लोड हुँदैछ...

मेनु

छानबिनका लागि तयार छु, संविधानमाथि छेडखानी भए प्रतिवाद हुन्छः प्रचण्ड

छानबिनका लागि तयार छु, संविधानमाथि छेडखानी भए प्रतिवाद हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू कुनैपनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्।

शनिबार पेरिसडाँडास्थित नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफ्नो कार्यकालमा भएका निर्णयहरूको जिम्मेवारी लिन तयार रहेको बताएका हुन्।

‘मेरै पालामा निर्णय भएको हो भनेर मैले धेरै पटक भनिसकेको छु, सम्पूर्ण छानबिनका लागि म तयार छु,’ उनले भने। आफ्नो कार्यकालका निर्णयहरू पारदर्शी रहेको दाबी गर्दै उनले त्यसको सामना गर्न आफू नडराउने स्पष्ट पारे।

जनताको पक्षमा संविधान संशोधन गर्न तयार भएपनि जनताको अधिकार खोस्नेगरि संविधानमाथि कुनैपनि प्रकारको छेडखानी भए प्रतिवाद गर्ने प्रचण्डले बताएका छन् । जनताले पाएका अधिकार खोस्ने प्रयास भए सडक र सदनबाट प्रतिवाद गर्ने उनको भनाइ छ । रास्वपा नेतृत्वको सरकारलाई रचनात्मक सहयोग रहने उल्लेख गर्दै उनले राष्ट्रिय हितमा आँच पुग्ने गतिविधि स्वीकार्य नहुने बताए।

विद्यार्थी संगठन र ट्रेड युनियनका अधिकारमाथि प्रश्न उठाउने प्रयास भइरहेको भन्दै उनले त्यस्ता गतिविधि नगर्न सरकारलाई सचेत गराए। लामो संघर्ष र बलिदानबाट प्राप्त अधिकार कुण्ठित गर्न नहुने उनको भनाइ थियो।

पार्टीको केन्द्रीय कार्यसमायोजन समितिको बैठकले विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने निर्णयलाई अस्वीकार्य ठहर गरेको छ। उक्त निर्णय गलत भएको निष्कर्ष निकाल्दै नेकपाले त्यसको विरोधमा उभिने जनाएको छ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यदिशा र पार्टीको आगामी रणनीतिबारे छलफल भइरहेको जनाइएको छ। अर्को बैठक वैशाख ३ गते बस्ने तय गरिएको छ।

बैठकमा संयोजकप्रचण्डले ६ महिनाभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।