विराटनगर । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिहरूलाई आर्थिक लेनदेन र सेटिङका आधारमा उत्तीर्ण गराउने आरोपपछि छानविनमा परेका कार्यालय प्रमुख सतिस सत्याललाई क्लिन चिट दिइएको छ ।
उनीविरुद्ध लाइसेन्स परीक्षामा अनुत्तीर्णहरुसँग आर्थिक लेनदेन र सेटिङ गरेको उजुरी परेको थियो । उक्त उजुरीको छानविनका लागि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यातायात व्यवस्था महाशाखा प्रमुख उर्मिलादेवी निरौलाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको थियो ।
समितिकी संयोजक निरौलाले छानविनका क्रममा कार्यालय प्रमुखको संलग्नताको आधार नदेखिएको बताइन् । ‘रिपोर्ट हामीले मन्त्रालयका सचिव र मन्त्रीज्यूसमक्ष बुझाइसकेका छौं,’ उनले भनिन्, ‘उजुरीमा भनेजस्तो सेटिङ तत्काल देखिएन ।’
लेनदेनको उजुरीका आधारमा कार्यालय प्रमुख सतिश सत्याललाई मन्त्रालय तानेर छानविन सुरु भएको थियो । उनीमाथि लाइसेन्स प्राप्तिका लागि अनिवार्य मानिने स्वास्थ्य परीक्षणमा समेत सेटिङ गरेको आरोप थियो । विशेष गरी आँखाको दृष्टि वा अन्य स्वास्थ्य मापदण्डमा फेल भएका परीक्षार्थीहरूलाई ‘रि–चेक’ को बहानामा कर्मचारी र बिचौलियाको मिलेमतोमा उत्तीर्ण गराउने गरिएको उजुरीमा उल्लेख थियो ।
पाँच सदस्यीय छानविन समितिमा मन्त्रालयका कानुनी सल्लाहकार, आईटी विज्ञ र प्रशासनका कर्मचारीहरू सहभागी थिए । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको थियो । सत्याललाई मन्त्रालय तानेपछि उक्त स्थानमा यातायात व्यवस्था कार्यालय इटहरीका वरिष्ठ शाखा अधिकृत सुभाष कार्कीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको थियो ।
कार्यालय प्रमुख सत्यालले पनि आफूले सफाइ पाएको बताए । ‘मैले कहिले खराब मनसाय राखिन । मलाई कुनै पुरातनवादी सोच, मेडिकलमा असफल बनाई रकम असुली गर्ने समूह÷गिरोह तथा मेडिकल कब्जा गरी आफु अनुकुल चलाउने खोज्ने समुहहरुले बदमान गर्ने अभिप्रायले उजुरी दर्ता गरी मलाई बदमान गर्न खोजियो,’ उनले भने, ‘परिमाण स्वरुप मैले आज उक्त उजुरीबाट सफाई पाएको छु ।’
उनले आफ्नो लडाई नयाँ प्रविधिको भएको पनि बताए । ‘यो लडाइँ नयाँ प्रविधिको हो । पहिला पुरानो प्रविधिका आधारमा असफल बनाई रकम असुल्न बानी परेकाहरुका लागि आधुनिक प्रविधि जुन कोशी प्रदेशको कुनैपनि यातायात व्यवस्था कार्यालयले अबलम्बन गरेको छैन त्यस प्रविधिलाई मैले कार्यान्वयनमा ल्याएँ फलस्वरुप आज मैले धेरै दुःख पाएँ,’ उनले भने, ‘तर म आत्तिएको छैन । म बिचौलिया तथा स्वार्थ समूहको ईच्छा अनुकल कार्य गर्न असमर्थ छु ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।