विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बहाना बनाउँदै निगमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्यमा उच्च वृद्धि गरेको हो । पछिल्लो मूल्यवृद्धिसँगै नेपालमा पेट्रोलियम पदार्थको मूल्य इतिहासकै सर्वाधिक महँगो बिन्दुमा पुगेको छ ।
आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीका आधारमा महिनाको १ र १५ तारिखमा मूल्य समायोजन गर्ने गर्दै आएको थियो । तर, पछिल्लो समय निगमले उक्त प्रचलनलाई लत्याउँदै नयाँ मूल्य सूची आउनु अगावै र एकै सातामा दुई पटकसम्म मूल्य वृद्धि गरेर उपभोक्ताको ढाड सेक्ने काम गरेको छ ।
कुन वस्तुमा कति बढ्यो ?
निगमले जारी गरेको नयाँ दररेट अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँले वृद्धि गरिएको छ । त्यसैगरी, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ र हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाइएको छ ।
नयाँ मूल्य अनुसार अब विराटनगर जस्ता तेस्रो वर्गका क्षेत्रहरूमा पेट्रोलको प्रतिलिटर २१६.५० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य २०७ रुपैयाँ कायम भएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक) को नयाँ मूल्य प्रतिलिटर २५७ रुपैयाँ कायम गरिएको छ ।
कर कटौतीको लाभ उपभोक्तालाई होइन, निगमको घाटा पुर्नलाई
केही दिन अगाडि मात्रै सरकारले इन्धनमा लाग्ने पूर्वाधार विकास शुल्क र भन्सार शुल्कमा ५० प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो । सरकारको यस कदमबाट आम उपभोक्ताले इन्धनको मूल्य घट्ने र महँगीबाट केही राहत पाउने अपेक्षा गरेका थिए । तर, आयल निगमले सरकारले दिएको उक्त छुटको लाभ उपभोक्तालाई हस्तान्तरण गर्नुको सट्टा आफ्नो घाटा कम गर्ने तर्फ मात्रै ध्यान दिएको देखिएको छ । कर कटौतीका बाबजुद निगमले ठूलो मात्रामा मूल्य वृद्धि गर्दा सरकारको राहत प्याकेज ‘हात्ती आयो हात्ती आयो फुस्सा’ सावित भएको छ ।
निगमको दाबी: “मूल्य नबढाए आपूर्ति ठप्प हुन्छ”
मूल्य वृद्धिको बचाउ गर्दै निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण निगम अझै पनि ठूलो घाटामा रहेको जनाएको छ । निगमका अनुसार यसअघि पेट्रोलमा प्रतिलिटर १६.६५ रुपैयाँ घाटामा रहेको जनाएको थियो तर मूल्य भने १९ रुपैयाँले बढाएको छ । डिजेलमा प्रतिलिटर १०९.५० रुपैयाँ घाटा रहेको थियो ।
विज्ञप्तिमा भनिएको छ, “भारतीय आयल कर्पोरेसनलाई दिनुपर्ने भुक्तानीमा समेत असर पर्न जाने र आपूर्ति व्यवस्थापनमा असहजता सिर्जना हुने भएकाले लागत मूल्य अनुसार मूल्य वृद्धि गर्न बाध्य भएका हौँ ।” निगमले यस समायोजनपछि पनि पाक्षिक रुपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरेको छ ।
लगातारको मूल्य वृद्धिले ढुवानी भाडा र दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएर सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ । सरकार र निगमको यस्तो रबैयाप्रति उपभोक्ता अधिकारकर्मीहरूले चर्को विरोध जनाएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।