इलाम । तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ।
नयाँ वर्षको अवसर पारेर वैशाख ५ गतेदेखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
उद्घाटन खेलमा आयोजक रेडहर्ष एफसी र भारतको जर्जियन एफसीबीच प्रतिस्पर्धा हुने तय भएको छ । प्रतियोगिताअन्तर्गत वैशाख ६ गते फिदिम स्पोर्टिङ क्लब र रोलिङ क्लब झापाबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।
वैशाख ७ गते मलेसियाको एन पेनाङ एफसी र मच्छिन्द्र एफसीबीच प्रतिस्पर्धा हुने आयोजक सदस्य तथा अखिल नेपाल फुटबल संघका पूर्वकेन्द्रीय सदस्य निरोज खड्गीले जानकारी दिए। वैशाख ८ गते अन्तिम क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र चित्लाङ एफसीबीच प्रतिस्पर्धा हुनेछ।
पर्यटन प्रवर्द्धन र खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकका महासचिव प्रकाश घिमिरेले बताए। खेलाडीहरूको बसोबास व्यवस्थापनका लागि होटलहरूसँग सम्झौता भइरहेको उनले जानकारी दिए।
इलामको ठुलो टुँडिखेलमा सञ्चालन हुने प्रतियोगिताका लागि अस्थायी बाँसको प्यारापिट निर्माण गरी करिब १० हजार दर्शक अटाउने व्यवस्था गरिएको छ। प्रतियोगिताको मुख्य प्रायोजन गैरआवासीय नेपाली संघले गर्दै आएको छ।
विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।