लोड हुँदैछ...

मेनु

रवि लामिछानेको ‘एक्सन’:

मन्त्री बनेको १४ दिनमै दीपक साहको बिदाइ हुने, अस्पताल दौडिने निशा मेहेता पनि निशानामा

मन्त्री बनेको १४ दिनमै दीपक साहको बिदाइ हुने, अस्पताल दौडिने निशा मेहेता पनि निशानामा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना मन्त्रीहरूमाथि कडा ‘डण्डा’ चलाउने भएका छन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैली र पदीय मर्यादालाई लिएर प्रश्न उठेपछि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई पत्र लेख्दै एक मन्त्रीलाई फिर्ता बोलाउन र अर्की मन्त्रीलाई सचेत गराउन सिफारिस गरेका हुन्।

रास्वपाको यो निर्णयसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साह मन्त्री बनेको मात्र १४ दिनमा पदमुक्त हुने निश्चित देखिएको छ। सभापति लामिछानेले पठाएको पत्रमा मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरी आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्ति दिलाउन सक्रिय भूमिका खेलेको आरोप लगाइएको छ।

पार्टीको केन्द्रीय अनुशासन आयोगको प्रतिवेदनका आधारमा मन्त्री साहले पार्टीको छवि, आदर्श र सिद्धान्तमा आँच पुर्‍याएको ठहर गर्दै उनलाई ‘राइट टु रिकल’ (Right to Recall) को व्यवस्था प्रयोग गरी फिर्ता बोलाउन सिफारिस गरिएको हो।

निशा मेहेता पनि निशानामा
यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता पनि पार्टीको निशानामा परेकी छिन्। पछिल्लो समय सरकारी अस्पतालहरूको आकस्मिक अनुगमनमा दौडिएर चर्चामा रहेकी मन्त्री मेहेतालाई काममा अपेक्षित गम्भीरता नदेखाएको भन्दै सचेत गराउन सिफारिस गरिएको छ। अनुगमनमा सक्रिय देखिए पनि नीतिगत र जिम्मेवारीका हिसाबले उनले गम्भीरता नदेखाएको पार्टीको निष्कर्ष छ।

प्रधानमन्त्रीलाई पठाइएको पत्रमा भनिएको छ, “निज माननीय मन्त्रीलाई जिम्मेवारीबाट अलग गर्न साथै यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखिएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय निशा मेहेतालाई सचेत गराउन सिफारिस गर्दछु।”

पार्टी विधानको धारा २५ (४) (क) र धारा ६९ को अधिकार प्रयोग गर्दै लामिछानेले यो कदम चालेका हुन्। सरकारमा गएको छोटो समयमै आफ्नै मन्त्रीहरूमाथि यस्तो कठोर निर्णय लिएपछि राजनीतिक वृत्तमा यसको निकै चर्चा सुरु भएको छ। विराटनगरका राजनीतिक विश्लेषकहरू यसलाई पार्टीभित्रको शुद्धीकरण र अनुशासनको कडा सन्देशका रूपमा हेरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।