विराटनगर। प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
भोलि चैत २७ गते उपसभामुख पदको निर्वाचन हुने तय भइसकेको छ । यसका लागि सभामुख डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचन कार्यतालिका प्रकाशन गर्न हिजै निर्देशन दिएका थिए ।
यसअघि चैत २२ गते सभामुख निर्वाचन सम्पन्न भएको थियो। संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभा बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।
सभामुख पदमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएका थिए। संविधानअनुसार सभामुख र उपसभामुख एउटै दलबाट हुन नमिल्ने व्यवस्था रहेकाले उपसभामुख भने रास्वपाबाहेक अन्य दलका महिला सांसदबाट निर्वाचित हुनेछन्।
उपसभामुख पदका लागि रास्वपा अयोग्य छ भने नेकपा एमालेले उक्त पदमा कुनै इच्छा देखाएको छैन । बाँकी राष्ट्रिय दलहरु नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने उपसभामुख पदका लागि दावी गरिरहेका छन् । यद्यपि रास्वपाले कुन दललाई समर्थन दिन्छ भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन । रास्वपाको इच्छा र समर्थन बिना उपसभामुख बन्न सक्ने अवस्था पनि छैन ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।