इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० गतेदेखि सुरु हुने भएको छ।
आयोजक राष्ट्रिय जागृति क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख ७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो।
प्रतियोगितामा दुई विदेशी टोलीसहित नेपालका गरी कुल ८ टोलीको सहभागिता रहनेछ। एक सातासम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ।
त्यस्तै, सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ। विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ पुरस्कार दिइने संयोजक अनुरोध थापाले जानकारी दिए।
क्लबका अध्यक्ष केशव कार्कीका अनुसार प्रतियोगिताको कुल अनुमानित खर्च ८८ लाख ५० हजार रुपैयाँ रहेको छ। इटहरी उपमहानगरपालिकाले १८ लाख रुपैयाँ विनियोजन गरेको छ भने स्थानीय दाताहरू र टिकट बिक्रीबाट करिब २५ लाख रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ। प्रतियोगिताको मुख्य प्रायोजक रेडबुल रहेको छ।
प्रतियोगिताको उद्घाटन खेल चैत ३० गते नाइजेरियाको जस्ट जोन एफसी र युवा समाज सुन्दरहरैँचा बीच हुनेछ। वैशाख १ गते मच्छिन्द्र एफसी, काठमाडौं र झापा–११ एफसीबीच प्रतिस्पर्धा हुनेछ।
त्यसैगरी वैशाख २ गते राष्ट्रिय जागृति क्लब, इटहरी र सातदोबाटो युथ क्लब, ललितपुरबीच खेल हुनेछ भने वैशाख ३ गते प्लानिङ ब्वाइज एफसी, काठमाडौं र भारतको युनाइटेड कुर्सेओङ एफसीबीच प्रतिस्पर्धा हुने तालिका सार्वजनिक गरिएको छ।
पहिलो चरणका विजेता टोलीहरूबीच वैशाख ४ र ५ गते सेमिफाइनल खेल खेलाइनेछ भने प्रतियोगिताको फाइनल वैशाख ७ गते हुनेछ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।