लोड हुँदैछ...

मेनु

जग्गा खरिद निर्णयले इलामको जालपा माविमा विवाद

जग्गा खरिद निर्णयले इलामको जालपा माविमा विवाद

इलाम । इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देमा रहेको जालपा माध्यमिक विद्यालयका लागि जग्गा खरिद गर्ने निर्णयले स्थानीय र प्रवासी समुदायबीच तीव्र विवाद सिर्जना गरेको छ।

विद्यालय व्यवस्थापन समिति र जग्गा खरिद समितिका सीमित प्रतिनिधिले मिलेर निर्णय गरेको आरोप लागेपछि विषय थप पेचिलो बनेको हो। विभिन्न राजनीतिक आस्था जोडिएका व्यक्तिहरूको मिलेमतोमा प्रक्रिया अघि बढाइएको दाबीसमेत गरिएको छ।

विद्यालयको पूर्वाधार विकासका लागि विदेशमा रहेका पूर्व विद्यार्थीहरूले स्वेच्छिक रूपमा करिब २० लाख रुपैयाँ सहयोग जुटाएका थिए। बेलायत, अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया तथा खाडी मुलुकमा रहेका पूर्व विद्यार्थीहरूले पठाएको उक्त रकम प्रयोगको पारदर्शितामाथि अहिले प्रश्न उठेको छ।

खरिद गर्न लागिएको जग्गा महँगो दरमा रहेको, भिरालो तथा वन क्षेत्रमा पर्ने र विद्यालय प्रयोजनका लागि उपयुक्त नदेखिएको भन्दै स्थानीय र प्रवासीहरूले असन्तुष्टि जनाएका छन्।

बेलायतमा रहेका पूर्व विद्यार्थी सुदिप वान्तावाले सीमित व्यक्तिको निर्णयमा प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाउँदै तत्काल जग्गा खरिद प्रक्रिया रोक्न माग गरेका छन्। उनले विदेशबाट संकलित रकम दुरुपयोग भए कानुनी जटिलता उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्।

उनका अनुसार विद्यालयको दीर्घकालीन हितका लागि प्राविधिक रूपमा उपयुक्त स्थान छनोट गरी योजनाबद्ध ढंगले संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ। प्रभावकारी समिति गठन बिना गरिएको निर्णयले विद्यालयलाई नोक्सान पुर्‍याउने उनको भनाइ छ।

स्थानीय तथा प्रवासी समुदायले पारदर्शी र न्यायोचित निर्णयको माग गर्दै सबै सरोकारवालालाई साझा समाधान खोज्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।