लोड हुँदैछ...

मेनु

धरानमा नगर अस्पतालको स्थान विवाद चर्कियो, पुरानो जग्गा फिर्ताको माग

धरानमा नगर अस्पतालको स्थान विवाद चर्कियो, पुरानो जग्गा फिर्ताको माग

धरान । सुनसरीको धरान–१६ स्थित पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) लाई चन्द्र संस्कृत माविमा मर्ज गरी त्यहाँ नगर अस्पताल सञ्चालन गर्ने तयारी सार्वजनिक भएपछि विवाद चर्किएको छ।

अधिकांश सरोकारवालाहरूले धरान–१ स्थित पुरानै अस्पतालको जग्गा फिर्ता ल्याएर सोही स्थानमा नगर अस्पताल निर्माण गर्नुपर्ने माग गर्दै आएका छन्।

आइतबार उपमहानगरपालिकामा भएको छलफलमा पनि उनीहरूले सो माग दोहोर्‍याएका हुन्। छलफलमा कार्यवाहक प्रमुख अईन्द्रविक्रम बेघाले नगर अस्पताल निर्माणका विषयमा मनपरी रूपमा अभिव्यक्ति नदिन आग्रह गरे। उनले १५ दिनभित्र नगर अस्पताल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउँदै धराने नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिने बताए।

बेघाले पुरानो अस्पतालकै स्थानमा नगर अस्पताल बनाउन आफू पनि सकारात्मक रहेको बताए। तर २०७४ सालमा उक्त जग्गा मन्त्रिपरिषद्को निर्णयबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा गएको यथार्थ रहेको उल्लेख गरे। उनले सो जग्गा फिर्ता ल्याउन मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्ने भएकाले तत्काल सम्भव नभए वैकल्पिक स्थानबारे छलफल अघि बढाइएको स्पष्ट पारे।

छलफलका क्रममा पुरानो अस्पतालको जग्गा फिर्ता ल्याउने विषयमा स्पष्ट धारणा नआएको भन्दै सहभागीहरूले आपत्ति जनाएपछि केही समय चर्काचर्कीसमेत भएको थियो। छलफलमा प्रा.डा. राजेन्द्र शर्माले पुरानो अस्पतालको ऐतिहासिक महत्त्व उल्लेख गर्दै जग्गा फिर्ताका लागि संस्थागत पहल आवश्यक रहेको बताए।

रास्वपा नेतृ शरीन तामाङले नगर अस्पतालको टुंगो नलागेसम्म नगरबाट विनियोजित २ करोड रुपैयाँ कार्यान्वयन नगर्न आग्रह गरिन्। उनले विद्यालयको स्थानमा विद्यालय र अस्पतालको स्थानमा अस्पताल नै हुनुपर्ने धारणा राख्दै पुरानै जग्गामा अस्पताल निर्माणका लागि पहल गर्ने बताइन्।

यसैबीच श्रम संस्कृति पार्टीले धरान–१ स्थित पुरानो अस्पतालको करिब १ बिघा १३ कट्ठा जग्गा पुनः उपमहानगरपालिकाको नाममा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ। पार्टीका अध्यक्ष दिनेश राई र सचिव प्रेमकुमार श्रेष्ठले बुझाएको ज्ञापनपत्रमा उक्त क्षेत्र धरानका नागरिकका लागि ऐतिहासिक तथा अत्यावश्यक स्वास्थ्य सेवा केन्द्र भएको उल्लेख गर्दै तत्काल पहल गर्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।