लोड हुँदैछ...

मेनु

सरकारी कार्यालयको नयाँ समय लागू, बिहान ९ बजेदेखि सेवा सञ्चालन

सरकारी कार्यालयको नयाँ समय लागू, बिहान ९ बजेदेखि सेवा सञ्चालन

विराटनगर । सरकारको निर्णयअनुसार सोमबारदेखि सबै सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालनमा आएका छन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चैत २३ गतेदेखि लागू हुने गरी बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको थियो। सो निर्णय राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो।

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने तथा बाँकी दिन नियमित रूपमा कार्यालय सञ्चालन गर्ने व्यवस्था गरेको छ। मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा असहजता उत्पन्न भएकाले यस्तो निर्णय गरिएको जनाइएको छ।

निर्णयअनुसार विराटनगर महानगरपालिकामा पनि सोमबारदेखि कर्मचारीहरू बिहानै कार्यालयमा उपस्थित भएका छन्। यसअघि आइतबार १० बजे उपस्थित हुने कर्मचारीहरू सोमबार भने ९ बजे नै कार्यालय पुगेका थिए। सेवाग्राहीहरू पनि बिहानै सेवा लिन कार्यालय पुगेको देखिएको छ।

पछिल्लो समय कर्मचारीलाई अनुशासनमा रहन निर्देशन दिइएकाले समयमै उपस्थित हुने प्रवृत्ति बढेको देखिएको छ। साथै, सरकारले पेट्रोलियम आपूर्ति व्यवस्थापनलाई ध्यानमा राख्दै सरकारी कार्यालयसँगै सम्पूर्ण शैक्षिक संस्थामा पनि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds