लोड हुँदैछ...

मेनु

संसदीय दलको नेता टुङ्ग्याउन कांग्रेसको बैठक बस्दै, पाँच नेताको चर्चा

संसदीय दलको नेता टुङ्ग्याउन कांग्रेसको बैठक बस्दै, पाँच नेताको चर्चा

विराटनगर । नेपाली कांग्रेस संसदीय दलको नयाँ नेता चयन गर्ने विषयमा छलफल गर्न आज बिहान ११ बजे सिंहदरवारमा बैठक बस्दैछ । प्रतिनिधिसभाको दोस्रो ठूलो दल एवं प्रमुख प्रतिपक्षी कांग्रेसले सभामुख चयनको प्रक्रिया सकिएसँगै आफ्नो संसदीय नेतृत्व टुङ्ग्याउन लागेको हो । आइतबार डोलप्रसाद (डीपी) अर्याल सभामुखमा निर्वाचित भएपछि अब कांग्रेसले दलको नेता चयन प्रक्रियालाई तीव्रता दिएको हो ।

सांसद बासना थापाका अनुसार बैठकको औपचारिक एजेण्डा सार्वजनिक नगरिए पनि मुख्य छलफल दलको नेता चयनमै केन्द्रित हुनेछ । यसअघि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद बैठक सञ्चालन गर्नुपरेकाले कांग्रेसले यो प्रक्रियामा ढिलाइ गरेको थियो । दलको नेताका लागि केसीसहित भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का र निस्कल राईको नाम चर्चामा छ ।

अन्य दलहरूले यसअघि नै आफ्नो संसदीय नेतृत्व चयन गरिसकेका छन् । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह संसदीय दलको नेता चुनिएर प्रधानमन्त्री बनिसकेका छन् भने नेकपा एमालेले रामबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीले प्रचण्ड, श्रम संस्कृति पार्टीले हर्क साम्पाङ र राप्रपाले ज्ञानेन्द्र शाहीलाई नेता चयन गरेका छन् ।

कांग्रेस विधानको दफा ५ अनुसार एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानमार्फत नेता निर्वाचित गर्नुपर्ने व्यवस्था छ । २०६४ सालयता सर्वसम्मत रूपमा नेता छान्न नसकेको कांग्रेसमा यसपटक पनि सभापति शेरबहादुर देउवा र गगन थापा पक्षबीचको रस्साकस्सीका कारण मतदानकै सम्भावना बढी देखिएको छ । प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्य समेत हुने भएकाले यो चयनलाई राजनीतिक रूपमा विशेष महत्त्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।