विराटनगर । प्रतिनिधि सभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीले पनि आफ्नो दाबी प्रस्तुत गरेको छ। पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत उपसभामुखमा पार्टीले महिला उम्मेदवार खडा गर्ने जानकारी दिएका हुन्।
सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डिपी अर्याल निर्विरोध हुने निश्चित भइसकेको अवस्थामा उपसभामुखका लागि साना दलदेखि प्रमुख प्रतिपक्षसम्मको दौडधुप सुरु भएको छ। उपसभामुख पदका लागि यसअघि नै नेपाल कम्युनिस्ट पार्टीले दाबी गरिसकेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यो पदमा आफ्नो स्वाभाविक हक लाग्ने भन्दै उम्मेदवारी दिने संकेत गरिसकेको छ।
संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने प्रावधान छ। सदनमा उपसभामुखको भूमिका न्यून देखिए पनि संवैधानिक परिषद्मा यस पदको प्रतिनिधित्व हुने भएकाले राजनीतिक दलहरूका लागि यसको विशेष महत्त्व छ। परिषद्मा रहने सदस्यले राज्यका महत्त्वपूर्ण नियुक्तिहरूमा निर्णायक भूमिका खेल्न सक्ने भएकाले नै दलहरूबीच यो पदका लागि खिचातानी हुने गरेको हो।
अर्कोतर्फ, सरकारको नेतृत्व गरिरहेको रास्वपाले सरकारका महत्त्वपूर्ण निर्णयहरू र दलीय समझदारी आवश्यक पर्ने विषयहरूमा सहजताका लागि विपक्षीमध्येकै कुनै शक्तिलाई उपसभामुखमा समर्थन गर्न सक्ने रणनीति समेत बनाएको देखिन्छ। यसै रणनीतिको लाभ लिन श्रम संस्कृति पार्टी लगायतका अन्य दलहरूले उपसभामुखमा आफ्नो दाबीलाई तीव्र पारेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।