लोड हुँदैछ...

मेनु

संघीय संसदको दुवै सदनको अधिवेशन आजबाट सुरु हुँदै

संघीय संसदको दुवै सदनको अधिवेशन आजबाट सुरु हुँदै

विराटनगर । प्रतिनिधिसभाको पहिलो अधिवेशन आजबाट सुरु हुँदैछ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि सिंहदरबारस्थित संघीय संसद् भवनको बहूद्देश्यीय कक्षमा दिउँसो २ बजे बैठक बस्ने तय भएको छ ।

संसद्का बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । आजै संघीय राष्ट्रियसभाको बैठक पनि बस्नेछ ।

राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले यही चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपतिसमक्ष बुझाएको थियो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली काँग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २५, नेपाली कम्युनिष्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ र एक स्वतन्त्र सांसद बैठकमा सहभागी हुनेछन् ।

बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको छ । रास्वपा सभापति रवि लामिछाने, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र राप्रपाबाट ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने तय भएको छ । कांग्रेसका तर्फबाट सम्बोधन गर्ने नेताको नाम भने टुंगो लागिसकेको छैन ।

आजको बैठकमा तीन अध्यादेश पेस हुनेछन् । गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश २०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश, २०८२ र ‘नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश २०८२ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।