उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित ६१ वर्षीया रूपा राई जयकला आधारभूत विद्यालयमा अध्ययनरत छिन् ।
सानो उमेरमा विद्यालय जान नपाएको पीडालाई मनमै राखेकी राईले ढिलो उमेरमै भए पनि पढाइ सुरु गर्दै आफ्नो अधुरो सपना पूरा गर्ने अठोट लिएकी छन्।
पाँच वर्षअघि कक्षा १ मा भर्ना भएकी राई अहिले कक्षा ४ मा अध्ययनरत छिन् । अहिले वार्षिक परीक्षा दिइरहेकी उनले आगामी वर्ष कक्षा ५ मा उक्लिने लक्ष्यले उत्साहित देखिन्छिन् । विद्यालय जानु केवल पढाइ मात्र नभई जीवन परिवर्तनको महत्वपूर्ण माध्यम बनेको उनको अनुभूति छ।
राईको दैनिक जीवनशैली पनि प्रेरणादायी छ। बिहान सबेरै उठेर घरधन्दा र भान्साको काम सकेपछि उनी समयमै विद्यालय पुग्छिन्। विद्यालयमा सातै घन्टी कक्षामा बसेर ध्यानपूर्वक अध्ययन गर्ने उनी विशेष कामबाहेक कहिल्यै कक्षा नछोड्ने बताउँछिन् ।
“घरको काम सकिन्छ, तर पढाइ छुटाउनु हुँदैन भन्ने लाग्छ,” उनको भनाइ छ। कक्षाकोठामा उनका सहपाठीहरू अधिकांश आफ्नै नातिनातिना उमेरका छन्। सुरुमा केही असहजता भए पनि अहिले सबैले माया र सम्मानका साथ “बजु” भनेर सम्बोधन गर्ने गरेका छन्, जसले उनलाई थप आत्मविश्वासी बनाएको छ।
विद्यालयका शिक्षकहरूले पनि उनको लगनशीलता, अनुशासन र सिक्ने इच्छाको खुलेर प्रशंसा गरेका छन्। विद्यालय प्रशासनका अनुसार राई अनुकरणीय विद्यार्थीमध्ये एक हुन्, जसको नियमितता र मेहनत अन्यका लागि प्रेरणाको स्रोत बनेको छ।
रूपा राईको यो यात्रा केवल व्यक्तिगत उपलब्धि मात्र नभई समाजका धेरै अशिक्षित व्यक्तिहरूका लागि सन्देश बनेको छ। गाउँघरका महिला तथा ज्येष्ठ नागरिकहरू पनि उनीबाट प्रभावित हुँदै शिक्षा सुरु गर्ने सोच बनाउन थालेका छन्।
उमेरले शिक्षा रोक्दैन भन्ने सन्देश व्यवहारमै देखाइरहेकी राई भन्छिन्, “ढिलो भए पनि पढ्न थालेँ, अब सकेसम्म पढिरहन्छु।”




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।