विराटनगर । नेपाली कांग्रेसभित्र समानान्तर गतिविधि तीव्र भएपछि संस्थापन पक्षले देउवा समूहमाथि ‘अनुशासनको डण्डा’ चलाउने तयारी गरेको छ। पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले पार्टीको आधिकारिक निर्णय र वैधानिकता विपरीत गतिविधि गरेपछि त्यसलाई नियन्त्रण गर्न आज दिउँसो १ बजे केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ।
विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएर निर्वाचन आयोगले समेत त्यसलाई मान्यता दिइसकेको अवस्थामा देउवा पक्षले समानान्तर अभ्यास गरिरहेको भन्दै पार्टीले गम्भीर आपत्ति जनाएको छ। विशेषगरी, नेता रमेश लेखक पक्राउ परेपछि देउवा समूहका पूर्णबहादुर खड्काले आफूलाई ‘कार्यवाहक सभापति’ दाबी गर्दै विज्ञप्ति जारी गरेपछि विवादले उग्र रूप लिएको हो।
पार्टीको आधिकारिक नेतृत्वलाई चुनौती दिँदै खड्काले गरेको सो कार्यलाई अनुशासन उल्लंघनको पराकाष्ठा मान्दै कांग्रेसले उनलाई कडा कारबाही गर्ने संकेत गरेको छ। आजको बैठकमा खड्काको क्रियाशील सदस्यता नवीकरण नगर्नेदेखि अन्य विभागीय कारबाहीसम्मका एजेन्डामा छलफल हुने बुझिएको छ। पार्टीको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने यो बैठकले विद्रोही गतिविधि गर्ने देउवा पक्षका नेताहरूलाई स्पष्टीकरण सोध्ने र अनुशासनको दायरामा ल्याउने तयारी गरेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।