विराटनगर । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मंगलबारदेखि अवकाश भएपछि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्। नेपालको संविधानको धारा १२९ (९) बमोजिम प्रधानन्यायाधीशको पद रिक्त भएमा वरिष्ठतम् न्यायाधीशले स्वतः कामु प्रधानन्यायाधीशको रूपमा न्यायपालिकाको नेतृत्व गर्ने व्यवस्था छ।
१७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी मल्लले करिब एक दशकको कार्यकालमा लैंगिक न्याय, घरेलु हिंसा र संवैधानिक मामिलाहरूमा दूरगामी महत्त्वका नजिरहरू प्रतिपादन गरेकी छन्। त्रिभुवन विश्वविद्यालय र दिल्ली विश्वविद्यालयबाट कानूनमा स्नातक तथा स्नातकोत्तर गरेकी उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेकी छन्। सर्वोच्चको न्यायाधीश हुनुअघि उनी वरिष्ठ अधिवक्ता, पहिलो संविधानसभा सदस्य र संयुक्त राष्ट्रसंघको विज्ञका रूपमा समेत सक्रिय थिइन्।
राजनीतिक संक्रमण र प्रतिनिधिसभाको संरचना अपूर्ण रहेका कारण संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्न सकेको छैन। सभामुख, उपसभामुख र विपक्षी दलको नेता चयन भएर परिषद्ले पूर्णता पाएपछि मात्र स्थायी प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढ्नेछ। संसदीय सुनुवाइ लगायतका कानुनी प्रक्रिया पूरा हुन अझै केही समय लाग्ने देखिएकाले मल्लले कामु प्रधानन्यायाधीशकै रूपमा अदालतको नेतृत्व गर्नेछिन्। स्थायी प्रधानन्यायाधीशमा नियुक्त भएमा उनी २०८५ कात्तिक ३० गतेसम्म पदमा रहनेछिन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।