विराटनगर । जेनजी आन्दोलनका क्रममा भएको दमन र गृह मन्त्रालयमा रहँदा पदीय आचरण विपरीत कार्य गरेको अभियोगमा काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
गत भदौ २३ र २४ गते काठमाडौंमा भएको ‘जेनजी’ आन्दोलनलाई निर्ममतापूर्वक दबाउन भूमिका खेलेको आरोप रिजालमाथि छ । तत्कालीन गृहमन्त्री रमेश लेखकका निकट मानिने रिजाल उक्त घटनापछि आलोचित बनेका थिए र काठमाडौंको नेतृत्व सम्हालेको एक महिना नपुग्दै उनलाई जिम्मेवारीबाट हटाइएको थियो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो । सोही आयोगको प्रतिवेदनलाई आधार बनाउँदै यसअघि नै तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक समेत पक्राउ परिसकेका छन् ।
सीडीओ बन्नुअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको रूपमा कार्यरत रहँदा रिजालमाथि गम्भीर भ्रष्टाचारको आरोप समेत लागेको छ । कर्मचारीहरूलाई अध्यागमन र अन्य आकर्षक कार्यालयहरूमा पठाउँदा ‘सेटिङ’ गरी आर्थिक लाभ लिएको र पदीय मर्यादा उल्लंघन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
अख्तियारले विशेष अदालतलाई बुझाएको विवरण अनुसार, तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट र गृहसचिव गोकर्णमणि दुवाडीसँगको मिलेमतोमा रिजालले कर्मचारी सरुवामा अस्वाभाविक गतिविधि गरेको पाइएको छ । अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराई लगायतका अधिकारीहरूसँगको सम्पर्क र बरामद डायरीका आधारमा उनीमाथि अनुसन्धानको सुई सोझिएको हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।