काठमाडौं । सरकारले एसइई दिएका विद्यार्थीलाई लक्षित गरेर सञ्चालन हुने ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरेको छ।
शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि यस्तो जानकारी दिएका हुन्। एसइई सकेर कक्षा ११ मा जान तयारी गरिरहेका विद्यार्थीलाई विभिन्न कोचिङ सेन्टरले तानातान गर्ने प्रवृत्ति बढेकाले तत्कालका लागि यस्ता ब्रिज कोर्स र ट्युसन कक्षा रोक्ने निर्णय गरिएको उनको भनाइ छ ।
यसअघि मन्त्री पोखरेलकै निर्र्णयका आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहदेखि उच्च शिक्षासम्मका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने सूचना सार्वजनिक गरेको थियो। सरोकारवालाहरूले मन्त्रीको यस्तो निर्णयप्रति आश्चार्य जनाउँदै विरोध जनाएको २४ घण्टा नबित्दै मन्त्रालयले आफ्नो सूचना नै वेबसाइटबाट हटाएको छ।
मन्त्रालयले सूचनामा केही विषय स्पष्ट पार्न आवश्यक भएकाले अस्थायी रूपमा हटाइएको जनाएको छ । मन्त्रालय स्रोतका अनुसार एकतर्फी निर्णयले लगानी जोखिममा पर्ने भन्दै कोचिङ व्यवसायीहरूले आपत्ति जनाएपछि सरकार पछि हटेको हो ।
मन्त्री पोखरेलले आफ्नो निर्णय सच्याउँदै कक्षा ११ का लागि सञ्चालन हुने ब्रिज कोर्स रोकिएपनि एमबीबीएस, इन्जिनियरिङ जस्ता उच्च शिक्षाका प्रवेश परीक्षा तयारी कक्षामा भने प्रतिबन्ध नलगाइएको बताएका छन् ।
स्पष्ट पारेका छन्। रास्वपाकै सांसद सुलभ खरेलले पनि ब्रिज कोर्स गराउने संस्था सञ्चालन गर्दै आएका छन् ।
शिक्षामन्त्री पोखरेलले चैत १३ गते मन्त्रीस्तरीय निर्णय गर्दै २०८२ वैशाख १ देखि लागू हुनेगरी प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स हटाउने भनेका थिए। निर्णय अनुसार विद्यालयका विभिन्न तहमा भर्ना हुनुअघि चलाइने तयारी कक्षा र उच्च शिक्षाका लागि सञ्चालन हुने प्रवेश परीक्षा तयारी तथा ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्न भनिएको थियो।
विद्यार्थीको मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने, शिक्षामा समान पहुँचमा बाधा पुग्ने र अभिभावकमा अनावश्यक आर्थिक बोझ थपिने भएकोले यस्तो निर्णय गरेको मन्त्रालको भनाइ थियो । सूचनामा यस्ता कार्यक्रम तुरुन्त बन्द गर्न सम्बन्धित संस्था र निकायलाई निर्देशन दिइएको थियो।
जिल्ला प्रशासन कार्यालयहरूलाई अनुगमन गरी यस्ता कक्षा सञ्चालन भएको पाइए कानुन अनुसार कारबाही अघि बढाउन पनि भनिएको थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।