काठमाडौं । राइड सेयरिङ कम्पनीहरूले शोषण गरेको आरोप लगाउँदै चालकहरूले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
स्वतन्त्र चालक फाउन्डेसनको नेतृत्वमा माइतीघरमा मोटरसाइकल राखेर शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको हो। चालकहरूले कम्पनीहरूले मनोमानी गर्दै आफूहरूमाथि अन्याय गरेको आरोप लगाएका छन्।
पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दासमेत भाडादर समायोजन नगरिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। आफ्नो श्रमअनुसार उचित आम्दानी नहुँदा समस्या बढेको उनीहरूको भनाइ छ।
माइतीघरबाट सुरु भएको प्रदर्शनपछि चालकहरूले मोटरसाइकल र्याली निकालेका थिए। र्याली त्रिपुरेश्वर, कमलपोखरी, बानेश्वर हुँदै तीनकुने पुगेर कोणसभामा परिणत भएको थियो।
फाउन्डेसनले मध्याह्न साढे १२ बजेपछि काठमाडौंका विभिन्न स्थानमा थप मोटरसाइकल र्याली निकाल्ने तयारी गरिएको जनाएको छ। चालकहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।