धरान । चौथो संस्करणको धरान गोर्खा ट्रेल ब्लेजर प्रतियोगितामा पुरुषतर्फ उमेश थापा र महिलातर्फ प्रिया तामाङ विजेता बनेका छन्।
शनिबार बिहान सम्पन्न ९ किलोमिटर दूरीको दौड उमेश थापाले २५ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै उपाधिसहित २० हजार रुपैयाँ नगद जिते। महिलातर्फ प्रिया तामाङले ३० मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै २० हजार रुपैयाँ हात पारिन्। उनी १४औँ धरान रनकी तेस्रो विजेता समेत हुन्।
प्रतियोगितामा करिब ६ सय धावक–धाविकाको सहभागिता रहेको थियो। पुरुषतर्फ विकास भुजेल २५ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो बने भने अमिर लिम्बु २५ मिनेट ५४ सेकेन्डमा तेस्रो भए। उनीहरूले क्रमशः १० हजार र ५ हजार रुपैयाँसहित मेडल तथा ट्रफी प्राप्त गरे।
महिलातर्फ पुष्पा सेर्मा लिम्बु ३० मिनेट ५४ सेकेन्डमा दूरी पूरा गर्दै उपविजेता बनिन् भने दीप बस्नेत ३० मिनेट ५५ सेकेन्डमा तेस्रो भइन्।
भेट्रानतर्फ पुरुषमा रेशम लिम्बु २८ मिनेट १३ सेकेन्डमा पहिलो भए। विजयकुमार राई दोस्रो र विमान राई तेस्रो स्थानमा रहे।
महिला भेट्रानतर्फ जमुना लिम्बु ४२ मिनेट ४५ सेकेन्डमा प्रथम भइन्। कुसुम लिम्बु दोस्रो र असुली राई तेस्रो बने। उनीहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
पूर्व गोर्खाहरूको ‘पुर्खा दिवस’ (अप्रिल ५) को अवसरमा गोर्खा सिमेट्री ट्रस्ट नेपालको आयोजनामा ‘गोर्खा ट्रेल ब्लेजर नेपाल–२०२६’ सम्पन्न भएको हो। दौड धरान–१८ रत्न चोकबाट सुरु भई मङ्गलवारे, सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुका भन्ज्याङमा पुगेर समापन गरिएको थियो।
विजेताहरूलाई समापन समारोहका सभापति महेन्द्रकुमार राई र धरान–२० का वडाध्यक्ष पदमबहादुर राईले पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा र धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राईले गरेका थिए।
प्रतियोगितामा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर र धनकुटा लगायत जिल्लाबाट ६ सयभन्दा बढी धावक–धाविकाको सहभागिता रहेको आयोजकले जनाएको छ। साथै, प्रतियोगितामा धरान रनको प्राविधिक सहयोग रहेको थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।