काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
प्रहरीले उनलाई आज बिहान नियन्त्रणमा लिएपछि स्वास्थ्य परीक्षणको लागि टिचिङ अस्पताल लगिएको थियो ।
अस्पतालका चिकित्सकले निगरानीमा राख्नुपर्ने बताएपछि उनलाई भर्ना गरिएको हो । दुईपटक मिर्गौला प्रत्यारोपण गराइसकेका ओलीलाई ‘मल्टिपल हेल्थ इश्यू’ का कारण जोखिम हुन सक्ने भन्दै अस्पतालको ५०१ नम्बर बेडमा राखिएको छ।
अस्पताल स्रोतका अनुसार प्रारम्भिक रिपोर्टमा ‘चेस्ट पेन’ र ‘पाल्पिटेशन’ देखिएको छ। हाल उनलाई इसीजी मनिटरमार्फत मुटुको चालको निरन्तर अनुगमन गरिँदैछ भने मिर्गौला सम्बन्धी विशेषज्ञ चिकित्सकले पनि स्वास्थ्य अवस्थाको निगरानी गरिरहेका छन्।
यसअघि मिर्गौला प्रत्यारोपणपछिले ओली सोही बेडमा भर्ना भएर उपचार गराएका थिए। उनीसँगै पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई भने महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ। दुवैलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूविरुद्ध लापरबाही गरी ज्यान लिन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ। जेनजी आन्दोलनका क्रममा भएको घटनामा लापरबाहीका कारण युवाहरूको ज्यान गएको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको हो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।