विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउलाई प्रतिशोधको राजनीतिको आरम्भका रूपमा टिप्पणी गरेका छन्। ओली पक्राउ परेपछि सामाजिक सञ्जालमा लेख्दै उनले देश अब फेरि आन्दोलनको गोलचक्करमा फस्ने चेतावनी दिएका हुन्।
आफूले केही समयअघि ओखलढुङ्गाको कार्यक्रममा व्यक्त गरेको भनाइलाई स्मरण गर्दै साम्पाङले लेखेका छन्, “मेरो कुरा ढिलो गरी बुझ्छन्। मैले ओखलढुङ्गाको कार्यक्रममा भनेको थिएँ— अरू जसले जिते पनि प्रतिशोधको राजनीति हुन्छ, प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो।” ओलीको गिरफ्तारीलाई उनले त्यही प्रतिशोधको राजनीतिको एउटा कडीका रूपमा विश्लेषण गरेका छन्।
सांसद साम्पाङले अबको राजनीतिक दिशा केवल आन्दोलन र अस्थिरता मात्र हुने दाबी गरेका छन्। उनले अगाडि लेखेका छन्, “अब हुने भनेको यस्तै मात्रै हो। आन्दोलन, आन्दोलन अनि आन्दोलन।”
राजनीतिक दलहरू विकास र श्रम संस्कृतिको बाटो छोडेर एकअर्कालाई सिध्याउने खेलमा लाग्दा देश थप संकटमा पर्ने उनको निष्कर्ष छ। ओली पक्राउ परेपछिको विकसित परिस्थितिलाई उनले आफ्नो पुरानो भविष्यवाणी सही साबित भएको अर्थमा प्रस्तुत गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।