लोड हुँदैछ...

मेनु

मुलुक बालेन युगमा होइन, ‘ब्ल्याकहोल’ तिर गयो : गोकुल बास्कोटा

मुलुक बालेन युगमा होइन, ‘ब्ल्याकहोल’ तिर गयो : गोकुल बास्कोटा

विराटनगर । नेकपा एमालेका नेता गोकुल बास्कोटाले वर्तमान राजनीतिक घटनाक्रमप्रति कडा टिप्पणी गर्दै मुलुक ‘बालेन युग’ तर्फ नभई ‘ब्ल्याकहोल’ (अन्धकार खाडल) तिर धकेलिन लागेको बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीपछि सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै बास्कोटाले सरकारको कदमलाई प्रतिशोधको राजनीति संज्ञा दिएका हुन् ।

पछिल्लो समय पार्टी अध्यक्ष ओलीका कटु आलोचकका रूपमा समेत देखिनुभएका नेता बास्कोटाले वर्तमान सत्ता समीकरण र कार्यशैलीले देशलाई अस्थिरतातर्फ लगेको संकेत गरेका छन् । उनले लेखेका छन्, “बालेन युगमा जान्छ भन्थे, ब्याकहोल्तिर जाने देखियो । पार्ट-टु भनौँ होला, पार्ट-थ्री कति समयमा पुग्ने हो ?”

बास्कोटाले नेपालमा भइरहेका पछिल्ला राजनीतिक विकासक्रमलाई छिमेकी र अन्य मुलुकका अस्थिर मोडलसँग तुलना गर्दै चेतावनी दिएका छन् । “पाकिस्तानी र बङ्गलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन,” उनले भने, “पूर्वाग्रह र प्रतिशोध फाइनल्ली राम्रो हुँदै होइन, जसलाई जेसुकै लागोस् ।”

उनको यो टिप्पणीले वर्तमान सरकारले चालेको कदमले लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गरेको र देशमा राजनीतिक प्रतिशोधको नयाँ शृङ्खला सुरु भएको संकेत गरेको छ । ओली र रमेश लेखकको गिरफ्तारीलाई लिएर एमाले वृत्तमा तीव्र आक्रोश पैदा भइरहेका बेला बास्कोटाको यो भनाइ सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।