लोड हुँदैछ...

मेनु

केपी ओलीको गिरफ्तारी 'राजनीतिक प्रतिशोध' :

अनुभवहीन र अराजक सरकार विरुद्ध सडकमा उत्रन महेश बस्नेतको आह्वान

अनुभवहीन र अराजक सरकार विरुद्ध सडकमा उत्रन महेश बस्नेतको आह्वान

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति नेकपा एमालेले कडा आपत्ति जनाएको छ । एमालेका प्रभावशाली नेता एवं पार्टी सचिव महेश बस्नेतले वर्तमान सरकारले राजनीतिक प्रतिशोधका आधारमा लोकतन्त्रका योद्धामाथि प्रहार गरेको भन्दै कडा आलोचना गरेका छन् ।

‘जेनजी’ (Gen Z) आन्दोलन दमन गरेको र सो क्रममा ज्यान मुद्दाको अनुसन्धानका लागि भन्दै सरकारले ओली र लेखकलाई पक्राउ गरेपछि नेता बस्नेतले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्नुभएको हो । बालेन नेतृत्वको सरकार र विशेषगरी नवनियुक्त गृहमन्त्री सुधन उरुङ्गको कार्यशैलीप्रति लक्षित गर्दै बस्नेतले देश द्वन्द्वतर्फ धकेलिएको चेतावनी दिएका छन् ।

नेता बस्नेतले गृहमन्त्री सुधन उरुङ्गलाई ‘अनुभवहीन, अराजक र विवादित’ व्यक्तिको संज्ञा दिँदै यस्ता व्यक्तिलाई गृह प्रशासन सुम्पिँदा देशमा प्रतिशोधको राजनीति सुरु भएको टिप्पणी गर्नुभएको छ । “राजनीतिक बन्दी नहुनु लोकतन्त्रको सुन्दर पक्ष हो, तर पछिल्ला घटनाक्रमले नेपाललाई पुनः अस्थिरता र राजनीतिक पूर्वाग्रहको बाटोमा लगेको छ,” बस्नेतले भनेका छन् ।

प्रहरी प्रशासनको दुरुपयोग भएको आरोप
आफ्नो फेसबुक स्टाटसमा नेता बस्नेतले सुरक्षा निकायको परिचालनप्रति पनि असन्तुष्टि जनाउनुभएको छ । उहाँले लेख्नुभएको छ, “सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै प्रहरी चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौँको संख्यामा खटिएको देख्दा दुःख लाग्छ ।” उहाँले सुरक्षाकर्मीलाई राजनीतिक स्वार्थमा प्रयोग गरेर सरकारले लोकतान्त्रिक मूल्य–मान्यताको धज्जी उडाएको आरोप समेत लगाएका छन् ।

अध्यक्ष ओलीको गिरफ्तारीलाई एमालेले राजनीतिक इबी साध्ने हर्कतको रूपमा लिएको छ । नेता बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सबैलाई सडकमा उत्रन आह्वान गरेका छन् ।

उहाँका अनुसार, नेकपा एमालेको सचिवालय बैठक आज बिहान ८:३० बजे बस्दैछ । सो बैठकले सरकारको कदमविरुद्ध देशव्यापी प्रदर्शन र आन्दोलनका कार्यक्रमहरू तय गर्नेछ । “आज बिहानको सचिवालय बैठकपछि हामी आन्दोलनका विस्तृत कार्यक्रम सार्वजनिक गर्नेछौँ । लोकतन्त्रका पक्षधरहरूलाई यो प्रतिशोधपूर्ण कदम विरुद्ध एकजुट हुन आग्रह गर्दछु,” बस्नेतले भनेका छन् ।

पूर्वप्रधानमन्त्री ओलीमाथि लागेको अभियोग र त्यसपछिको गिरफ्तारीले मुलुकको राजनीति पुनः तातिएको छ भने एमालेले यसलाई सत्ताको दुरुपयोग र अधिनायकवादी चरित्रको रूपमा व्याख्या गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।