विराटनगर । बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेता चयन भएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति तथा संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा उक्त जिम्मेवारी दिएको हो।
पार्टी सभापति रवि लामिछानेले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव अघि सारेका थिए। उक्त प्रस्ताव केन्द्रीय समिति र संसदीय दल दुवै बैठकबाट एकमतले पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकले संसदीय दल गठनसम्बन्धी प्रस्तावसमेत अनुमोदन गर्दै आगामी सरकार गठनका लागि आवश्यक आन्तरिक तयारी अघि बढाउने निर्णय गरेको छ। केन्द्रीय समिति बैठक सम्पन्न भएपछि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकसमेत बसेको थियो, जसले निर्णयलाई औपचारिकता दिएको हो।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो दलका रूपमा उदाएको थियो। पार्टीभित्र चुनाब अघि नै शाहलाई संसदीय दलको नेता र भावी प्रधानमन्त्री बनाउने सहमति बनेको थियो।
सहमति अनुसार नै उनलाई औपचारिक रूपमा संसदीय दलको नेतामा चयन गरिएको हो। शाहको चयनसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने संवैधानिक व्यवस्था अनुसार अब उनलाई प्रधानमन्त्री पदमा नियुक्त हुने बाटो खुलेको छ।
पार्टी सभापति लामिछानेले शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले छोटो मन्तव्य दिँदै पार्टीको तर्फबाट प्रभावकारी नेतृत्व र सुशासनको अपेक्षा गरिएको बताए।
शाहले भोलि प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ। शपथ ग्रहणसँगै उनले नयाँ मन्त्रिपरिषद् गठन गर्नेछन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।