लोड हुँदैछ...

मेनु

सन्दकपुरमा तेस्रो रेडपाण्डा महोत्सवको तयारी अन्तिम चरणमा

डेढ हजार क्वालिटी टुरिष्टले गरे प्याकेज बुक

डेढ हजार क्वालिटी टुरिष्टले गरे प्याकेज बुक

विराटनगर । इलामको प्रसिद्ध पर्यटकीय स्थल सन्दकपुरमा आगामी चैत २० गतेदेखि २३ गतेसम्म तेस्रो ुरेडपाण्डा महोत्सवु आयोजना हुँदैछ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्या–पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सन्दकपुर गाउँपालिकाले वार्षिक पर्यटन क्यालेन्डर नै तयार पारेर यो महोत्सव आयोजना गर्न लागेको हो ।

यसपटक महोत्सवमा सहभागी हुन स्वदेशी र विदेशी गरी झण्डै १ हजार ५०० जनाले अग्रिम प्याकेज बुकिङ गरिसकेका छन् । वाइल्ड लाइफ टुरिजमका रूपमा विकसित भइरहेको रेडपाण्डा अवलोकन अन्य धार्मिक तथा प्राकृतिक पर्यटनभन्दा केही महँगो र विशिष्ट हुने आयोजकको भनाइ छ ।

महोत्सवका क्रममा पर्यटकहरूले रेडपाण्डाको बासस्थानमै पुगेर यसको प्रत्यक्ष अवलोकन गर्ने दुर्लभ अवसर पाउनेछन् । रेडपाण्डाले मुख्य रूपमा मालिङ्गोको मुना र पात खाने हुँदा सोही क्षेत्रका वनजङ्गलमा पदयात्रा गराइनेछ । सङ्घीय सरकारको सहयोगमा निर्माण भएको ४३ किलोमिटर लामो रेडपाण्डा पदमार्ग (माईपोखरी–जौबारी) यस महोत्सवको मुख्य आकर्षण हो । यसका साथै पर्यटकहरूले माई भ्याली क्षेत्रमा चराचुरुङ्गीको अवलोकन, विश्व रामसार सूचीमा सूचीकृत माईपोखरी, टोड्के झरना र छिन्टापुको भ्रमण गर्न सक्नेछन् । सन्दकपुर डाँडाबाट नेपाल, भारत, भुटान र चीनका ६० भन्दा बढी हिमशृङ्खलाका साथै मनमोहक सूर्योदय र सूर्यास्तको दृश्य हेर्न पाउनु महोत्सवको अर्को पाटो हो ।

महोत्सवमा आउने पर्यटकका लागि खान र बस्न स्थानीय होटल तथा होमस्टेहरूको व्यवस्था गरिएको छ, जहाँ स्थानीय अर्गानिक परिकारको स्वाद लिन पाइनेछ । साथै, प्रत्येक दिन स्थानीय सांस्कृतिक झाँकी, भेषभुषा प्रदर्शनी र संरक्षणका विषयमा प्यानल छलफलहरू आयोजना हुनेछन् । यसअघिको दोस्रो महोत्सवमा करिब २७ हजार पर्यटक भित्रिएकोमा यसपटक १० हजार ‘क्वालिटी टुरिस्ट’ भित्र्याउने आयोजकको लक्ष्य छ । विशेषगरी, पहिले भारतीय बाटो प्रयोग गर्ने पर्यटकहरू अहिले नेपाली भिसा लगाएर काँकडभिट्टा र भद्रपुर हुँदै आउने क्रम बढेको छ ।

यस वर्षको महोत्सव सम्पन्न गर्न करिब ८ लाख ५० हजारदेखि १० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । यसका लागि सन्दकपुर गाउँपालिकाले ३ लाख र नेपाल पर्यटन बोर्डले ५ लाख रुपैयाँ, कोशी प्रदेश सरकार कोशी पर्यटन वर्षले ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । बाँकी रकम केचना–कञ्चनजङ्घा पर्यटन विकास समिति, रेडपाण्डा नेटवर्क र स्थानीय पर्यटन व्यवसायीहरूको सहकार्यबाट जुटाइनेछ । रेडपाण्डाको संरक्षणलाई पर्यटनसँग जोडेर स्थानीयको आयआर्जन सुधार गर्न महोत्सवले सन्दकपुरलाई विश्वस्तरको वन्यजन्तु पर्यटकीय गन्तव्य बनाउने आयोजकको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।