विराटनगर । कुखुरा फार्महरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले उच्च सतर्कता अपनाएको छ।
सुन्दरहरैँचा नगरपालिका वडा नं. ४, उर्लाबारी नगरपालिका वडा नं.८, कटहरी गाउँपालिका वडा नं.६ र विराटनगर महानगरपालिका वडा नं.४ मा रहेका फार्महरूमा बर्डफ्लु संक्रमण देखिएपछि प्रशासनले सतर्कता अपनाएको हो । विराटनगरको दाहाल कृषि फर्म, सुन्दरहरैचा नगरपालिकाको हलेसी महादेव फर्म, उर्लावारी नगरपालिकाको अठियाावारी फर्म तथा कटहरीको ए टु जेड र कामख्या पोल्टी फर्ममा कुखुरामा बर्डफ्लु देखिएको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरले पुष्टी गरेको छ ।
संक्रमण पुष्टि भएसँगै बर्ड फ्लु नियन्त्रण नियमावली २०७८ बमोजिम प्रभावित क्षेत्रहरूको चारै दिशातर्फ २० मिटरसम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी नियन्त्रणका कार्यहरू अगाडि बढाइएको छ। रोग मानिसमा समेत सर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले संक्रमण देखिएका पालिकाहरूबाट पन्छी तथा पन्छीजन्य सामग्रीहरू अण्डा, दाना, फोहर र कुखुराको सुलीको आयात, निर्यात तथा ओसारपसारमा अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रोक लगाएको छ।
मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले एक सूचना जारी गर्दै जिल्लाबासी, कृषक, व्यवसायी तथा उपभोक्ताहरूलाई आवश्यक सतर्कता अपनाउन र नियन्त्रण अभियानमा सहयोग तथा समन्वय गर्न आग्रह गरेका छन्। संक्रमण थप फैलिन नदिन र जनस्वास्थ्यको सुरक्षाका लागि प्रशासनले यस्तो कडा कदम चालेको जानकारी दिँदै उनले फार्ममा असामान्य रूपमा पन्छी मरेमा तत्काल जानकारी गराउन समेत अपिल गरेका छन्।
यसअघि झापाका दुई स्थानीय तहमा व्यावसायिक रूपमा पालिएका कुखुरामा ‘बर्ड फ्लु’ देखा परेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको थियो । झापाको दमक नगरपालिका र झापा गाउँपालिकाका फार्ममा संक्रमण पुष्टि भएको छ ।
प्रशासनले ती क्षेत्रलाई केन्द्रबिन्दु मानी चारै दिशामा संकटग्रस्त क्षेत्र घोषणा गरेर नियन्त्रणका काम अघि बढाएको छ। भेटेरिनरी अस्पताल झापाकी प्रमुख शीतल भट्टराईका अनुसार दमक नगरपालिका–१० स्थित एग्रिकल्चर फार्ममा पालिएका लेयर्स कुखुरामा ‘हाइप्याथोजेनिक’ बर्ड फ्लु पुष्टि भएको हो। संक्रमण देखिएलगत्तै उक्त फार्मका सबै कुखुराहरू सोमबार नै नष्ट गरिसकिएको छ । दमक र झापा गाउँपालिका मात्र नभई मेचीनगर र अर्जुनधारा नगरपालिका क्षेत्रबाट पनि कुखुरा मरिरहेको सूचना प्राप्त भएका प्रशासनको ठहर छ।
पछिल्लो समयमा झापा, मोरङ र सुनसरीमा बर्डफ्लुको संक्रमण देखिएको कोशी प्रदेश सरकारको कृषि मन्त्रालयले जनाएको छ । अहिलेसम्म तीन जिल्लाका १२ वटा कुखुराफार्मका कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएको कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयको पशुपंक्षी महाशाखा प्रमुख डा.दिपा दिवालीले जानकारी दिएकी छन् ।
अहिलेसम्म संक्रमण पुष्टि भएका फार्मको ६० हजारभन्दा बढी कुखुरा नष्ट गरिसकिएको मन्त्रालयले जनाएको छ । सरकारले रोग अन्यत्र फैलिन नदिन संक्रमित फार्मका कुखुरा नष्ट गर्दा कुखुरापालक किसानलाई क्षतिपूर्ति दिने गरेको छ ।
नेपालमा पहिलो पटक सन् २००९ को जनवरीमा ‘बर्ड फ्लु’ देखिएको थियो। त्यसयता नेपालका विभिन्न जिल्लाहरूमा पटक–पटक यो संक्रमण बल्झिँदै आएको छ। २०७६ वैशाखमा नेपालमा बर्डफ्लुका कारण एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको थियो।
बर्डफ्लु मुख्यतया पंक्षीहरूमा लाग्ने रोग भए तापनि यो मानिसमा सर्ने जोखिम सधैँ रहन्छ। विश्व स्वास्थ्य संगठन र स्वास्थ्य विज्ञहरूका अनुसार संक्रमित पक्षीको र्याल, सुली वा मासुको सोझो सम्पर्कमा आउने मानिसमा यो संक्रमण सर्न सक्छ। विशेषगरी फार्ममा काम गर्ने मजदुर र मासु काट्ने व्यक्तिहरू यसको उच्च जोखिममा हुन्छन्।
मानिसमा संक्रमण भएमा उच्च ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने र श्वासप्रश्वासमा गम्भीर समस्या अर्थात् निमोनिया जस्ता लक्षणहरू देखिन सक्छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।