विराटनगर । कुखुरामा लाग्ने घातक बर्डफ्लू संक्रमण मोरङका फैलिएपछि किसान र उपभोक्तामा त्रास देखिएको छ ।
केही दिनयता जिल्लाका विभिन्न स्थानमा एकपछि अर्को गर्दै संक्रमण पुष्टि हुन थालेपछि पोल्ट्री व्यवसायी तथा किसानहरू तनाबमा छन् ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहका अनुसार आइतबार विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फर्ममा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमित पोल्ट्री फार्मको संख्या पाँच पुगेको छ । यसअघि सुन्दरहरैँचा–४ को हलेसी महादेव कृषि फार्म, उर्लाबारी–८ को अठियावारी कृषि फार्म, कटहरी–२ को ई टु जेड पोल्ट्री फार्म र कटहरी–६ को कामख्या पोल्ट्री फार्ममा संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएसँगै प्रभावित क्षेत्रहरूमा नियन्त्रणका लागि तीव्र अभियान सञ्चालन गरिएको छ। अधिकारीहरूका अनुसार संक्रमण फैलिन नदिन संक्रमित फार्मका सबै कुखुरा, अण्डा, दाना, ओछ्यान तथा अन्य सामग्री नष्ट गर्ने काम भइरहेको छ।
चार स्थानमा उक्त प्रक्रिया पूरा भइसकेको छ भने विराटनगरस्थित दाहाल कृषि फर्ममा प्राविधिक प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ। सरकारी टोलीले संक्रमित क्षेत्रमा मरेका पन्छी तथा तिनका मलमूत्र सुरक्षित रूपमा व्यवस्थापन गर्न विशेष सावधानी अपनाइरहेको छ। ती सामग्रीलाई खाल्डो खनेर गाड्ने र औषधीय घोल प्रयोग गरी निसंक्रमण गर्ने काम भइरहेको छ, जसले संक्रमण अन्य क्षेत्रमा फैलिन नदिन सहयोग पुग्ने विश्वास गरिएको छ।
बर्डफ्लू देखिएसँगै जिल्लाभरका कुखुरा पालक किसानहरूमा त्रास फैलिएको छ। छोटो समयमै ठूलो क्षति पुर्याउन सक्ने भएकाले सम्बन्धित निकायहरूले निगरानी, परीक्षण तथा सचेतना अभियानलाई तीव्र बनाएका छन्। कुखुरामा असामान्य लक्षण देखिएमा तुरुन्त जानकारी गराउन किसानहरूलाई आग्रह गरिएको छ।
विशेषज्ञहरूले बर्डफ्लू अत्यन्तै संक्रामक रोग भएकाले जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएका छन्। हाल नियन्त्रणका प्रयास जारी रहे पनि जोखिम पूर्ण रूपमा हटिनसकेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।