लोड हुँदैछ...

मेनु

भ्रष्टाचार मुद्दामा एमाले नेता आचार्य साढे २ लाख धरौटीमा रिहा

भ्रष्टाचार मुद्दामा एमाले नेता आचार्य साढे २ लाख धरौटीमा रिहा

विराटनगर । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा नेकपा एमालेका नेता एवं पूर्वपर्यटन मन्त्री भीम आचार्य साढे २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले तोकेको धरौटीमा बुझाएर उनी रिहा भएका हुन् ।

अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार आचार्यको बयान सकिएपछि थुनछेक आदेश जारी गरिएको हो। यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंसिर २१ गते विमानस्थल निर्माण प्रक्रियामा अनियमितता भएको आरोपमा मुद्दा दायर गरेको थियो। ५५ जना प्रतिवादी रहेको उक्त मुद्दामा हालसम्म ४० जना हाजिर भई धरौटीमा रिहा भइसकेका छन्।

मुद्दामा आचार्यसहित पाँच जना पूर्वमन्त्रीमाथि आरोप लगाइएको छ। रामशरण महत, रामकुमार श्रेष्ठ, दिपक अमात्य र पोष्टबहादुर बोगटीविरुद्ध पनि मुद्दा दायर गरिएको थियो । बोगटीको निधन भइसकेको छ।

सुनसरी घर भएका आचार्य कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हुन् । उनी नेकपा एमालेको गत महाधिवेशनमा सचिवमा पराजित भएका थिए ।

आचार्य धरौटी रकम बुझाएर रिहा भइसकेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । ‘उहाँसँग २ लाख ५० हजार रुपैयाँ धरौटी रकम माग भएको थियो । उक्त रकम बुझाएर उहाँ गइसक्नु भयो,’ उनले भने ।

अभियोगपत्रअनुसार मन्त्रिपरिषद्को निर्णयलाई आफूअनुकूल व्याख्या गर्दै आचार्यले २०७० चैत २१ मा ठेक्का स्वीकृतिसम्बन्धी प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। साथै २०७१ जेठ ८ मा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङसँग २१ करोड ५९ लाख अमेरिकी डलरमा सम्झौता गर्न अन्तिम स्वीकृति दिएको र पछि चाइना एक्जिम बैंकबाट ऋण लिने प्रक्रिया अघि बढाइएको आरोप छ।

अभियोजन पक्षका अनुसार सुरुको लागत अनुमान १६ करोड ९६ लाख डलर रहेकामा त्यसलाई बढाएर २४ करोड ४० लाख डलर कायम गरी सम्झौता गरिएको थियो। यस प्रकरणमा ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै बिगो दाबी गरिएको छ।

यसैबीच अख्तियारले आइतबार मात्रै सोही प्रकरणमा पूर्वसचिव केदारबहादुर अधिकारीसहित २१ जना र दुई कम्पनीविरुद्ध दोस्रो मुद्दासमेत दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।