लोड हुँदैछ...

मेनु

‘अनिल–मीन’ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरीलाई

‘अनिल–मीन’ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरीलाई

विराटनगर । विराटनगरमा पहिलो पटक आयोजित ‘अनिल–मीन’ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेबन ज्वाला क्रिकेट मैदानमा आइतबार भएको तेस्रो खेलमा मोरङलाई ७४ रनले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले सुनसरीले उपाधि हात पारेको हो।

यसअघि पहिलो खेलमा मोरङसँग ५९ रनले पराजित भएको सुनसरीले दोस्रो खेल २१ रनले जित्दै सिरिज बराबरीमा ल्याएको थियो। निर्णायक खेलमा भने सुनसरीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा पारेको हो।

टस जितेर ब्याटिङ गरेको सुनसरीले वर्षाका कारण ४० ओभरमा छोट्याइएको खेलमा सबै विकेट गुमाउँदै १ सय ४६ रन बनायो। सुनसरीका कप्तान तथा प्लेयर अफ द म्याच रविन मण्डलले ८१ रनको महत्वपूर्ण योगदान दिए भने रोशन घिमिरेले १० रन जोडे। मोरङका कृष शर्माले ३ विकेट लिँदा कृतिक कामतले २ विकेट तथा प्रतिक पोखरेल, यथार्थ बचन यादव र अमर यादवले समान १–१ विकेट लिए।

जवाफमा १४७ रनको लक्ष्य पछ्याएको मोरङ २७।४ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमा समेटियो। मोरङका प्रतिक पोखरेलले १९ रन र कृष शर्माले १२ रन बनाए पनि अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्। सुनसरीका कविराज खत्रीले ५ विकेट लिए भने रविन मण्डलले ३ विकेट लिएर टोलीको जित सुनिश्चित गरे।

प्रतियोगितामा प्लेयर अफ द सिरिज कविराज खत्री घोषित भए। उत्कृष्ट ब्याटरको उपाधि रविन मण्डलले जित्दा उत्कृष्ट बलर मोरङका कृष शर्मा बने। उदयमान खेलाडीको उपाधि सुनसरीका अब्दुल रफाले पाए।

विजेता तथा अन्य खेलाडीलाई पूर्वखेलाडी अनिल श्रेष्ठ र मीन दाहाल, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु, सुनसरी क्रिकेट संघका अध्यक्ष सिपी पौडेल तथा फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिता पूर्वखेलाडी अनिल श्रेष्ठ र मीन दाहालको सम्मानमा आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।