विराटनगर । जेन्जी (Gen-Z) आन्दोलनकी एक सशक्त अभियान्ता रक्षा बमले प्रधानमन्त्री सुशिला कार्कीमाथि गम्भीर प्रश्न गर्दै एक भावुक पत्र लेखेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको उक्त पत्रमा रक्षाले देशको वर्तमान अवस्था, आन्दोलनकारीमाथि भइरहेको दुर्व्यवहार र सरकारको जवाफदेहितामाथि कडा टिप्पणी गरेकी हुन् ।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै रक्षाले विगतमा राज्यविहीनताको जटिल अवस्थामा नेतृत्व सम्हालेको र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्रीको प्रशंसा गरेकी छन् । तर, वर्तमान समयमा सडकमा नागरिकले भोग्नुपरिरहेको सास्ती र अपमानप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै उनले गम्भीर प्रश्नहरू तेर्स्याएकी छन् ।
‘हाम्रो भरोसाको बदलामा दुर्व्यवहार पायौँ’
रक्षाले पत्रमा उल्लेख गरेकी छन् कि संकटको समयमा संविधान जोगाउन र देशलाई निकास दिन प्रधानमन्त्रीको नेतृत्वमाथि ठुलो भरोसा गरिएको थियो । “त्यो निर्णय धेरै हदसम्म सही पनि थियो, तर त्यही विश्वासको बदलामा आज हामीले दुर्व्यवहार भोग्नुपरेको छ,” उनले लेखेकी छन् । सडकमा मात्र नभई सामाजिक सञ्जाल, विशेष गरी फेसबुकका इनबक्स र कमेन्टहरूमा आफूले लामो समयदेखि अपमान र गलत आरोपहरू खेपिरहेको उनले उल्लेख गरेकी छन् ।
अभियान्ता बमले आफूमाथि लागेका अनेकन् आरोप र प्रश्नहरूको जवाफ अब प्रधानमन्त्रीले नै दिनुपर्ने माग गरेकी छन् । उनले सरकारसँग रहेको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै भनेकी छन्, “प्रधानमन्त्रीज्यू, अब हामीमाथि लागेका यस्ता आरोप र प्रश्नहरूको जवाफ तपाईंले प्रतिवेदन सार्वजनिक गरेर दिनैपर्छ ।”
“सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?”
पत्रको सबैभन्दा मर्मस्पर्शी र गम्भीर हिस्सामा रक्षाले आफ्नो चरित्र र निष्ठामाथि उठाइएका प्रश्नहरूको जवाफ मागेकी छन् । उनले प्रधानमन्त्रीलाई सोधेकी छन्: “मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु, “मैले सिंहदरबार जलाएको हो कि होइन ? म कतैबाट परिचालित छु कि छैन ?, “हाम्रो शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी भयो ? गोली चलाउने आदेश कसले दियो र सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?” यी प्रश्नहरूको उत्तर खोज्नु र सत्यतथ्य बाहिर ल्याउनु प्रधानमन्त्रीको जिम्मेवारी भएको उनले स्मरण गराएकी छन् ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।