लोड हुँदैछ...

मेनु

बर्ड फ्लु नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन निर्देशन

बर्ड फ्लु नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन निर्देशन

विराटनगर । मोरङ जिल्लाको सुन्दरहरैँचा र उर्लाबारीमा बर्ड फ्लु (H5N1) संक्रमण देखिएपछि सरकारले नियन्त्रणको प्रयास सुरु गरेको हो ।

संक्रमण फैलन नदिन प्रभावित क्षेत्रका घरपालुवा पन्छी र पन्छीजन्य पदार्थहरू नष्ट गर्ने काम भइरहेको छ। पशु सेवा विभागले प्रभावित क्षेत्रलाई ‘बर्ड फ्लु प्रभावित क्षेत्र’ घोषणा गरी निसंक्रमण (डिस्इन्फेक्ट) को कार्य समेत अगाडि बढाएको छ।

रोगलाई पूर्ण नियन्त्रणमा लिन विभागले विभिन्न ११ बुँदे निर्देशन जारी गरेको छ। जसअनुसार पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा रोक लगाइएको छ। फार्मभित्र प्रवेश गर्नैपर्ने भएमा अनिवार्य रूपमा निसंक्रमण गर्नुपर्नेछ। एउटा फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने र प्रयोग भइसकेको अण्डाको क्रेट पुनः प्रयोग नगर्न विभागले सचेत गराएको छ।

फार्मको प्रवेश द्वारमा चुन वा निसंक्रामक औषधि राखिएको ‘फुटबाथ’ अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ। फार्मभित्र जाँदा छुट्टै बुट र एप्रोन लगाउनुपर्नेछ। साथै, फार्मभित्र कुकुर, बिरालो र मुसा जस्ता जनावर पस्न नपाउने व्यवस्था मिलाउन भनिएको छ। मरेका पन्छीलाई सुरक्षित तवरले खाडलमा गाड्नुपर्नेछ।

पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्नेछ। नियमित हात धुने र स्वास्थ्यमा समस्या देखिएमा तुरुन्त चिकित्सकलाई देखाउनु पर्नेछ। पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरिएको छ। यदि कतै ठूलो संख्यामा पन्छी बिरामी परे वा मरेमा तुरुन्तै नजिकैको पशु सेवा निकायमा जानकारी गराउन विभागले अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।