विराटनगर। विराटनगरमा पहिलो पटक आयोजित ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा सुनसरीले मोरङलाई २१ रनले पराजित गर्दै सिरिज १–१ को बराबरीमा ल्याएको छ।
नेपाल क्रिकेट फाउण्डेशन को आयोजनामा भएको खेल विराटनगरस्थित मेरिलेबन ज्वाला क्रिकेट मैदानमा शुक्रबार सम्पन्न भएको हो।
टस जितेर ब्याटिङ रोजेको सुनसरी ५० ओभरको खेलमा ३४.४ ओभरमै अलआउट हुँदै १०२ रनमा सीमित भयो। सुनसरीका लागि आशिष मण्डल ले २५ रन बनाउँदा रोशन घिमिरे ले १६, अफान ताहिर ले १३ र आकाश सर्राफ ले १० रनको योगदान दिए। मोरङका कृष शर्मा ले ५ विकेट लिए भने कृतिक कामत ले ३ विकेट हात पारे। महबुव इराकी र अमर यादव ले समान १–१ विकेट लिए।
१०३ रनको सामान्य लक्ष्य पछ्याएको मोरङ २३.२ ओभरमा ८१ रनमै समेटियो। मोरङका अटल साह ले अविजित २२ रन बनाउँदा आइन्सटाइन रिजाल ले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।
सुनसरीका प्लेयर अफ द म्याच कविराज खत्री ले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २ मेडनसहित ५ विकेट लिए। रविन मण्डल ले ३ विकेट लिएर जितमा महत्वपूर्ण योगदान दिए।
तीन खेलको ‘बेस्ट अफ थ्री’ सिरिजअन्तर्गत अब निर्णायक खेल शनिबार हुने आयोजकले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।