लोड हुँदैछ...

मेनु

कोशीमा मकै र चैते धानलाई दोब्बर मल

कोशीमा मकै र चैते धानलाई दोब्बर मल

विराटनगर । कोशी प्रदेशमा यस वर्ष मकै र चैते धान बालीका लागि गत वर्षको तुलनामा दोब्बर परिमाणमा रासायनिक मल वितरण गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरका अनुसार आपूर्ति व्यवस्था सहज बनाउँदै यस पटक किसानलाई पर्याप्त मल पुर्‍याइएको हो ।

विगतका वर्षहरूमा एउटा डिलर (सहकारी) लाई हिउँदको सिजनमा तीन पटकसम्म मात्र मल उपलब्ध गराइने गरेकोमा यस वर्ष हालसम्म ६ पटकसम्म मल पठाइसकिएको छ । निमित्त प्रादेशिक प्रमुख कमल पोखरेलका अनुसार वितरणको यो दर गत वर्षको तुलनामा शतप्रतिशत बढी अर्थात् दोब्बर हो ।

“अघिल्लो हिउँदमा एउटा डिलरले ३ वटा कोटा पाउँथे, तर यस वर्ष हामीले ६ पटकसम्म मल उपलब्ध गराइसकेका छौँ,” पोखरेलले भन्नुभयो, “मकै खेतीमा मलको माग अत्यधिक हुने भए पनि नियमित आपूर्तिका कारण यसपालि किसानबाट अभावको गुनासो आएको छैन ।”

हाल विराटनगर कार्यालयसँग मात्र करिब १४ हजार मेट्रिक टन युरिया मल मौज्दात छ । समग्र प्रादेशिक विवरण अनुसार युरिया १६ हजार ८ सय ४६ मेट्रिक टन, डीएपपी २ हजार ४ सय ७२ र पोटास ३ हजार ४ सय १२ मेट्रिक टन मौज्दात रहेको छ । कम्पनीले करिब ७ हजार मेट्रिक टन मल आकस्मिक अवस्थाका लागि ‘बफर स्टक’ मा सुरक्षित राखेर बाँकी मल धमाधम वितरण गरिरहेको छ ।

कोशी प्रदेशका ७५० वटा सहकारीमार्फत मल वितरण भइरहेको छ । जसमध्ये विराटनगर कार्यालयले मोरङ, भोजपुर र संखुवासभाका ३२५ सहकारीलाई समेटेको छ भने बिर्तामोड, इटहरी, इनरुवा र धनकुटा शाखाले आ-आफ्नो क्षेत्रमा आपूर्ति गरिरहेका छन् ।

चैतसम्मका लागि पर्याप्त मौज्दात रहेकाले चैते धानका लागि पनि मलको अभाव नहुने कार्यालयको सुनिश्चितता छ । यद्यपि, पश्चिम एसियामा जारी युद्ध लम्बिएमा भने आगामी दिनमा अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा चुनौती थपिन सक्ने भन्दै निमित्त प्रमुख पोखरेलले सरकारले बेलैमा सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ । वर्षे धान खेतीका लागि समेत अहिलेदेखि नै कोटा निर्धारण र टेन्डर प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।