विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
नगरपालिकाको वडा नम्बर ४ स्थित एक लेयर्स कुखुरा फार्ममा बर्डफ्लु रोग पुष्टि भएको र आसपासका क्षेत्रमा समेत कुखुराहरूमा लक्षण देखिएर मर्ने क्रम बढेपछि नगरपालिकाले कुखुराजन्य वस्तु ओसारपसारमा रोक लगाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बिहीबार ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै रोगको थप फैलावट रोक्न र सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि विभिन्न ७ बुँदे निर्देशनहरू पालना गर्न आग्रह गर्नुभएको छ।
नगरपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि प्रभावित क्षेत्रबाट कुखुरा, अन्डा, मासु, दाना र फार्ममा प्रयोग हुने उपकरणहरूको ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ। कुखुरापालक कृषकहरूलाई आफ्ना फार्ममा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाउन र प्रवेश तथा निकास बिन्दुमा चुना, फिनेल, स्यानिटाइजर वा साबुन पानी जस्ता निसंक्रामक वस्तुहरूको अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ।
सर्वसाधारणको जानकारीका लागि जारी गरिएको सन्देशमा बिरामी वा मरेका कुखुराहरूलाई खाली हातले नछुन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ। यदि कुनै पनि ठाउँमा कुखुराहरू असामान्य रूपमा बिरामी परेमा वा अचानक मरेमा तुरुन्तै सम्बन्धित वडा कार्यालय वा नगरपालिकाको पशुपन्छी विकास शाखामा जानकारी गराउन भनिएको छ।
प्रमुख प्रशासकीय अधिकृत कार्कीका अनुसार, संक्रमित वा शंकास्पद पशुपन्छीहरूको व्यवस्थापन प्रचलित मापदण्ड अनुसार सुरक्षित रूपमा गरिनेछ। स्थानीय बजार तथा मासु पसलहरूलाई समेत सरकारी निकायबाट हुने अनुगमन र निर्देशनहरूको पूर्ण पालना गर्न सूचित गरिएको छ।
यस घातक रोगको संक्रमण नियन्त्रणका लागि सम्पूर्ण नगरबासीहरूको सहयोगको अपेक्षा गर्दै नगरपालिकाले थप जानकारीका लागि पशुपन्छी विकास शाखामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ। यो समय पशुपन्छी पालक र उपभोक्ता दुवैका लागि सचेत रहनुपर्ने समय भएकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ । संक्रमण फैलिएको फर्म र आसपासका फर्महहरुमा भएका कुखुरा कानुन बमोजिम नष्ट गर्ने पनि बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।