लोड हुँदैछ...

मेनु

रास्वपा नेतृत्वमा सरकार गठनको बाटो खुला

रास्वपा नेतृत्वमा सरकार गठनको बाटो खुला

विराटनगर । निर्वाचन आयोग ले प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन रामचन्द्र पौडेल समक्ष बुझाएसँगै नयाँ सरकार गठन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ।

आयोगले प्रतिवेदन बुझाएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनबारे आन्तरिक छलफलमा जुटेको छ।

रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच सरकार गठन र नेतृत्वबारे छलफल भएको छ । उनीहरूबीच बिहीबार काठमाडौंको दरबारमार्गस्थित रोयल सिङ्गीमा भेट भएको हो ।

उपसभापति वाग्लेले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै भनेका छन्, ‘राजकाज ! आज साँझको छलफल !’ छलफलको निश्कर्ष भने सार्वजनिक भइसकेको छैन ।

फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिट जित्दै करिब दुईतिहाइ बहुमत हासिल गरेको छ । यससँगै संविधानको धारा ७६ अनुसार रास्वपा नेतृत्वमा एकल बहुमतको सरकार गठन हुने निश्चित भएको छ।

प्रतिवेदन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको टोलीले राष्ट्रपतिसमक्ष बुझाएको हो। कानुनी व्यवस्थाअनुसार निर्वाचन परिणाम घोषणा भएको सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने प्रावधान छ।

अब राष्ट्रपतिले संसदीय दलको नेता चयन भएपछि सोही नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । रास्वपाले बालेन्द्र शाह लाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारे पनि संवैधानिक रूपमा प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने व्यवस्था रहेको छ ।

यसअघि निर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते बिहान साढे ११ बजे हुने तय भएको छ । सबैभन्दा ज्येष्ठ सांसद अर्जुननरसिंह केसी ले राष्ट्रपतिबाट शपथ लिएपछि अन्य सांसदहरूलाई शपथ गराउनेछन् ।

निर्वाचन परिणामअनुसार रास्वपा सबैभन्दा ठूलो दल बनेको छ भने नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो, नेकपा एमाले २५ सिटसहित तेस्रो र नेपाल कम्युनिस्ट पार्टी १७ सिटसहित चौथो स्थानमा रहेका छन्। यस्तै श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौं र राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सिटसहित छैटौं दल बनेका छन् भने एक स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्। संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले अन्तिम परिणाम आएको ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।

चैत १६ गते संसद अधिवेशन बोलाउने तयारी भइरहेको स्रोतले जनाएको छ। त्यसअघि नै सरकार गठन हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।