लोड हुँदैछ...

मेनु

शनिबार भीषण हुरीबतासको सम्भावनाः उच्च सतर्कता अपनाउन र सकेसम्म यात्रा नगर्न अपिल

शनिबार भीषण हुरीबतासको सम्भावनाः उच्च सतर्कता अपनाउन र सकेसम्म यात्रा नगर्न अपिल

विराटनगर । देशभर मौसममा आएको अस्वाभाविक परिवर्तनसँगै शनिबार पूर्वी नेपालमा भीषण हावाहुरी चल्ने र यसले जनधनको ठुलो क्षति पुर्‍याउन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन गम्भीर चेतावनी जारी गरेको छ ।

शुक्रबारदेखि नै मौसममा उल्लेख्य बदलाव आउने भएकाले विशेष काम नपरी घरबाहिर ननिस्कन र लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणलाई उद्धृत गर्दै प्राधिकरणले शनिबार पूर्वी नेपालका विराटनगर, धरान, धनकुटा र आसपासका जिल्लाहरूमा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको वेगमा विनाशकारी हावाहुरी चल्न सक्ने जनाएको छ । प्रि–मनसुनको समयमा चल्ने यति तीव्र गतिको हावाहुरीले रुखहरू ढाल्ने, घरका छाना उडाउने, विद्युत्का खम्बा ढाल्ने र सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध पार्न सक्ने जोखिम रहने बताइएको छ ।

प्राधिकरणका अनुसार शुक्रबारदेखि नै लुम्बिनी प्रदेशका दाङ, नेपालगन्जसहित तराईका जिल्लाहरूमा हावाहुरीको प्रभाव देखिन थाल्नेछ । यस्तै, शुक्रबार दिउँसोदेखि नै कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका कतिपय स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेकाले चिसो र सम्भावित विपद्बाट जोगिन पूर्वतयारी गर्न आग्रह गरिएको छ ।

हुरीबतास र सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमै रहन, घरका झ्याल–ढोका बन्द गरी बाहिर रहेका सामानहरू सुरक्षित ठाउँमा राख्न, कमजोर संरचना, जस्तापाताका छाना, अग्ला रुख, टेलिफोनका खम्बा, बिजुलीका तार र ट्रान्सफर्मर आसपास नबस्न, हावाहुरी चल्दा आगलागीको सम्भावना बढी हुने भएकाले चुल्हो, ग्यास र आगोका अन्य स्रोतहरू पूर्ण रूपमा निभाउन, चट्याङ र विद्युतीय सर्ट हुन सक्ने जोखिमलाई ध्यान दिँदै घरका विद्युतीय उपकरणहरू बन्द राख्न, सडकमा गुडिरहेका सवारी साधनलाई रुख वा पोल नभएको सुरक्षित खुल्ला ठाउँमा रोक्न भनिएको छ ।

पछिल्ला दिनमा हावाहुरीकै कारण मानवीय क्षति समेत भइसकेकाले यसलाई सामान्य रूपमा नलिन प्राधिकरणले विशेष अनुरोध गरेको छ । मौसम सम्बन्धी आधिकारिक सूचनाका लागि जल तथा मौसम विज्ञान विभाग र स्थानीय प्रशासनको सम्पर्कमा रहन र रेडियो तथा सञ्चारमाध्यमबाट जारी हुने सन्देशहरू नियमित सुन्न समेत आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।