लोड हुँदैछ...

मेनु

सिटिजन्स बैंकको ५ करोड घोटाला काण्ड : तत्कालीन इन्चार्जलाई अदालतले दियो पक्राउ अनुमति

सिटिजन्स बैंकको ५ करोड घोटाला काण्ड : तत्कालीन  इन्चार्जलाई अदालतले दियो पक्राउ अनुमति

विराटनगर । सिटिजन्स बैंक इन्टरनेसनलको विराटनगर–३ स्थित कञ्चनबारी शाखामा भएको झन्डै ५ करोड रुपैयाँ हिनामिना प्रकरणमा मुख्य आरोपित तत्कालीन अपरेसन इन्चार्ज रोजी कँडेलविरुद्ध अदालतले पक्राउ अनुमति दिएको छ ।

उच्च अदालत विराटनगरले मंगलबार साँझ कँडेलविरुद्ध पक्राउ अनुमति दिएको हो । बैंकले गत चैत २८ गते बैंकिङ कसुर मुद्दामा कँडेलविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको थियो । प्रहरीले जाहेरी दर्ता गरेपछि अनुसन्धानका लागि मङ्गलबार अदालतबाट अनुमति लिएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बैंकिङ कसुर मुद्दामा जाहेरी दर्ता भई अनुसन्धानको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए । उनले भने, “प्रहरीले यस घटनामा सूक्ष्म ढङ्गले अनुसन्धान सुरु गरिसकेको छ ।”

यसरी भएको थियो घोटाला
बैंकका कर्मचारीहरुकै मिलेमतोमा १३ जना नक्कली ऋणी खडा गरी कुल ४ करोड ९१ लाख ५२ हजार १३ रुपैयाँ ६५ पैसा घोटाला भएको बैंकको आन्तरिक लेखापरीक्षण (अडिट) बाट खुलेको छ ।

अडिटका क्रममा कर्मचारीहरूले निक्षेपकर्ताले मुद्दती निक्षेप (फिक्स डिपोजिट) मा राखेको रकमलाई धितोका रूपमा प्रयोग गरी नक्कली कर्जा फाइल बनाएर रकम निकालेको देखिएको छ । यस प्रकरणमा बैंकले शाखाकी तत्कालीन अपरेसन इन्चार्ज, विराटनगर निवासी रोजी कँडेलविरुद्ध उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

हिनामिना प्रकरण बाहिरिएपछि बैंकले कँडेललाई सेवाबाट बर्खास्त गरिसकेको छ । यस्तै, सोही प्रकरणमा संलग्नताको आशङ्कामा शाखा प्रबन्धक अभिषेक अग्रवाल, सहायक प्रबन्धक जोसेफ आचार्यसहित कर्मचारीहरू सोनिका राउत र विकास श्रेष्ठलाई बैंकले निलम्बन गरेको छ ।

प्रहरीका अनुसार यो घोटालामा शाखाका कर्मचारी मात्र नभई प्रदेश र केन्द्रीय कार्यालयका कर्मचारीहरूको समेत संलग्नता हुन सक्ने देखिएकाले अनुसन्धानको घेरा फराकिलो बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds