काठमाडौं । संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी अघि बढाएको छ ।
संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार निर्वाचन आयोगले प्रतिवेदन पेस गरेलगत्तै औपचारिक रूपमा शपथको मिति तय गरिनेछ।
निर्वाचन आयोगले चैत ५ गतेसम्म प्रतिवेदन बुझाउने जनाएको छ। त्यसपछि सचिवालयले चैत १२ लाई लक्षित गर्दै शपथग्रहण कार्यक्रमको अन्तिम निर्णय गर्ने तयारी गरेको पाण्डेयले बताए।
शपथग्रहण कार्यक्रम ज्येष्ठ सांसदमार्फत सञ्चालन हुनेछ । आयोगले ज्येष्ठ सांसदको नाम राष्ट्रपति कार्यालय र संसद सचिवालयमा पठाएपछि ज्येष्ठ सांसदले पहिलो चरणमा राष्ट्रपतिबाट शपथ लिनेछन् । त्यसपछि उनले अन्य सांसदहरूलाई शपथ गराउने व्यवस्था छ।
यो पटक सबैभन्दा ज्येष्ठ सांसदका रूपमा नेपाली कांग्रेसका अर्जुननरसिंह केसी रहेका छन्। उनी ७८ वर्षीय हुन् ।
शपथग्रहणका लागि सिंहदरबारभित्र निर्माणाधीन संसद भवनमा अस्थायी हल तयार पारिएको छ। नयाँ संसद भवन पूर्ण रूपमा तयार नभएकाले हालका लागि सोही हल प्रयोग गरिने जनाइएको छ।
संसद सचिवालयले शपथग्रहण कार्यक्रमको तयारी, बैठकको डेकोरम तथा अन्य व्यवस्थापनका विषयमा छलफल गर्न विभिन्न दलका प्रतिनिधिहरू—राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग बिहीबार बैठकसमेत बोलाएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि नयाँ संसदको सपथपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।