लोड हुँदैछ...

मेनु

रास्वपाका दुई सांसदविरुद्ध सर्वोच्चमा रिट, शपथ रोक्न माग

रास्वपाका दुई सांसदविरुद्ध सर्वोच्चमा रिट, शपथ रोक्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

सिन्धुली–१ बाट निर्वाचित धनेन्द्र कार्की र उदयपुर–२ बाट निर्वाचित सूर्यबहादुर तामाङविरुद्ध मंगलबार रिट दायर गरिएको हो।

रिटमा नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार कटुवाल (सिन्धुली–१०) र अम्बरबहादुर रायमाझी (उदयपुर–२)ले उनीहरूलाई निर्वाचित घोषणा गर्ने निर्वाचन आयोग नेपालको निर्णय बदर गरी आफूलाई निर्वाचित घोषणा गर्न माग गरेका छन्। निवेदकहरूले दुवै सांसद उम्मेदवार रहँदा कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको दाबी गर्दै त्यस्तो अवस्थामा उम्मेदवार नै बन्न नमिल्ने जिकिर गरेका छन्।

आयोगलाई झुक्याएर उनीहरुले उम्मेदवारी दिएको आरोपसमेत रिटमा लगाइएको छ। रिटमार्फत उनीहरूको शपथ ग्रहण रोक्न अन्तरिम आदेश माग गरिएको छ । यस्तै, आयोगको निर्णय र जारी प्रमाणपत्रसमेत बदर गर्न माग गरिएको छ।

रास्वपाका यी दुवै सांसद उम्मेदवार हुँदा कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको सार्वजनिक भएको छ । कालोसुचीमा रहेका व्यक्ति बन्न नै अयोग्य रहेकाले उनीहरूलाई निर्वाचित घोषणा गर्न नमिल्ने दाबी रिटमा गरिएको छ। उनीहरूको उम्मेदवारी नै बदर हुने भएकाले दोस्रो बढि मत ल्याउने आफूहरुलाई निर्वाचित भएको घोषणा गर्न माग उनीहरुले गरेका छन् ।

रिटको मुद्दाको पेसी चैत २५ गतेका लागि तोकिएको वारेस युवराज पौडेलले जानकारी दिएका छन्। यसअघि पनि धनुषा–१ का रास्वपाकै उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले कालोसूचीका कारण बदर भएको थियो । सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका मातृकाप्रसाद यादव विजयी भएका छन् ।

आफ्नो उम्मेदवारी खारेजविरुद्ध साहले सर्वोच्चमा रिट दिएका थिए । अदालतलले उनको पक्षमा
अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।