विराटनगर । सिटिजन्स बैंक इन्टरनेसनलको कञ्चनबारी शाखामा भएको ४ करोड ९१ लाख रुपैयाँ हिनामिना प्रकरणमा बैंकले विराटनगरका पाँच कर्मचारीलाई कारबाही गरेको छ । निक्षेपकर्ताको रकम दुरुपयोग गरी नक्कली ऋण खडा गरेको आरोपमा बैंकले एक जनालाई बर्खास्त र चार जनालाई निलम्बन गरेको हो ।
को– को परे कारबाहीमा ?
बैंकले कञ्चनबारी शाखाकी तत्कालीन अपरेसन इन्चार्ज रोजी कँडेललाई सेवाबाट बर्खास्त गरिसकेको छ । उनीविरुद्ध बैंकले जिल्ला प्रहरी कार्यालय मोरङमा बैंकिङ कसुरमा उजुरीसमेत दिएको छ । यस्तै, हिनामिनामा संलग्नताको आशंका र पदीय जिम्मेवारी पुरा नगरेको भन्दै बैंकले अन्य चार कर्मचारीलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेहरूमा कन्चनबार शाखाका अभिषेक अग्रवाल, सहायक प्रबन्धक जोसेफ आचार्य, कर्मचारी सोनिका राउत र विकास श्रेष्ठ लाई निलम्बन गरेको छ ।
बैंकको आन्तरिक छानबिनका क्रममा कर्मचारीहरूले आफ्नै ‘युजर आइडी’ प्रयोग गरेर कीर्ते कारोबार गरेको फेला परेको छ । प्रतिवेदनअनुसार शाखा प्रबन्धक अभिषेक अग्रवालको आइडी ४७२, जोसेफ आचार्यको ९३२, रोजी कँडेलको २२७४ र सोनिका राउतको २८७ नम्बरको युजर आइडी प्रयोग गरी रकम निकालिएको देखिएको छ ।
बैंकले कँडेलविरुद्ध उजुरी दिएपछि मोरङ प्रहरीले यसको विस्तृत अनुसन्धान थालेको छ । मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले बैंकको अडिट रिपोर्ट अध्ययन भइरहेको र दोषी देखिएका सबैमाथि कानुनी प्रक्रिया अघि बढ्ने बताए । ‘हामीले बैंकको प्रतिवेदन र संलग्न कर्मचारीहरूको भूमिकाबारे सूक्ष्म अध्ययन गरिरहेका छौँ,’ एसपी कटुवालले भने ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलका अनुसार दुई महिनाअघि नै केन्द्रबाट विशेष टोली पठाएर छानबिन गरिएको थियो । ‘मुख्य आरोपित कँडेलले सुरुमा १५ दिनभित्र हिनामिना भएको रकम तिर्छु भनेर कागज गरेकी थिइन्, तर तोकिएको समयमा रकम नबुझाएपछि हामी प्रहरीमा जान बाध्य भयौँ,’ पोखरेलले भने । अन्य कर्मचारीहरूले पनि आफ्नो युजर आइडीबाट भएका कारोबारबारे सन्तोषजनक जवाफ नदिएकाले उनीहरूलाई निलम्बन गरी अनुसन्धानको दायरामा ल्याइएको बैंकले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।