लोड हुँदैछ...

मेनु

विराटनगरमा पहिलो पटक ‘घर निर्माण प्रदर्शनी’ आयोजना गरिदै

एकै ठाउँमा कन्स्ट्रक्सनदेखि इन्टेरियरसम्मका स्टलहरु राखिने

एकै ठाउँमा कन्स्ट्रक्सनदेखि इन्टेरियरसम्मका स्टलहरु राखिने

विराटनगर । विराटनगरमा पहिलो पटक बृहत् ‘घर निर्माण प्रदर्शनी’ (होम बिल्ड एक्जिबिसन) आयोजना हुने भएको छ । उद्योग संगठन मोरङले यहि चैत १२ गतेदेखि १६ गतेसम्म प्रदर्शनी गर्ने तयारी गरेको हो ।

विराटनगरस्थित जैन भवनमा उक्त प्रदर्शनी हुने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिनुभयो ।

विशेष गरी काठमाडौँ केन्द्रित हुने गरेका ‘बिल्डकन’ जस्ता प्रदर्शनीलाई पहिलो पटक उपत्यका बाहिर आयोजना गरेर कोशी प्रदेशको निर्माण क्षेत्रमा नयाँ उर्जा थप्ने प्रयास गरिएको आयोजकले जनाएको छ । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार हालको सुस्त बजारलाई गति दिन र उपभोक्तालाई निर्माण प्रविधिसँग प्रत्यक्ष जोड्न यो कार्यक्रम कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

“हामीले धेरै तामझाम र मनोरञ्जन भन्दा पनि विशुद्ध व्यावसायिक र सरोकारवालाहरूका लागि यो मेला सोचेका छौं,” अध्यक्ष राठीले भने, “घर बनाउन आवश्यक पर्ने जगदेखि सजावटसम्मका सम्पूर्ण सामग्री— किचन, सिमेन्ट, छड, प्लाइवुड, पेन्ट्सदेखि इन्टेरियर र सिसीटिभीसम्मका ६० देखि ६५ वटा स्टलहरू प्रदर्शनीमा रहनेछन् ।” उनका अनुसार मेलामा धेरै भीडभाड भन्दा पनि वास्तविक सरोकारवाला र उपभोक्ताको सहभागितालाई प्राथमिकता दिएर प्रवेश निःशुल्क गरिएको छ ।

प्रदर्शनीको अर्को मुख्य आकर्षण विभिन्न चार क्षेत्र अन्तरगत ११ वटा विषयगत (थेमेटिक) सेसनहरू सञ्चालन गरिने छ । यी सेसनहरूमा विज्ञहरूले नगरपालिका तथा महानगरपालिकाको भवन निर्माण मापदण्ड र भूकम्पीय सुरक्षाका आवश्यकताहरू, विद्युतीय सुरक्षा र ऊर्जा दक्षता, अग्नि सुरक्षा प्रणाली तथा घर सुरक्षाका अभ्यासहरू, निर्माण सामग्रीको गुणस्तर मापदण्ड र खरिद गर्नुअघि गुणस्तर जाँच्ने तरिकाहरू, आधुनिक घरका लागि वास्तुशास्त्रका सिद्धान्त, यवहारिकता र सामान्य गल्तीहरूका विषयमा जानकारी दिइने छ ।

यसैगरी कार्यक्रममा इन्टेरियर डिजाइनको अवधारणाः स्पेस प्लानिङ, उपयोगिता र सौन्दर्यीकरण, घर अटोमेशन तथा आधुनिक जीवनशैलीका लागि सुरक्षा र नियन्त्रण प्रविधि, दिगो आवासका लागि सोलार प्रविधि र किफायती घर, छत चुहिने (वाटरप्रुफिङ) समस्याका कारण र समाधानका उपायहरू, धमिरा नियन्त्रण, रोकथाम र दीर्घकालीन सुरक्षाका विधिहरू, पुराना भवनहरूको सुदृढीकरणका लागि रेट्रोफिटिङ प्रविधि आदिका बारेमा आठ ओटा सेसनमा छलफल हुने छ । यस क्षेत्रमा पक्की घरमा धमिरा लाग्ने समस्या अधिक देखिएकोले त्यस समस्याको समाधानका उपायको बारेमा पनि छलफल हुने छ ।

प्रदर्शनीमा धरान, इटहरी र मोरङका इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई समेत आमन्त्रण गरिने अध्यक्ष राठीले जानकारी दिए । सर्वसाधारणले निर्माण क्षेत्रको आधुनिक अभ्यास र नयाँ प्रविधिबारे व्यावहारिक ज्ञान प्राप्त गर्न सकून् भन्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीले नेपाली औद्योगिक उत्पादनको प्रवद्र्धन गर्ने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र उपभोक्ता, व्यवसायी तथा प्रविधिबीच बलियो नेटवर्किङ स्थापित गर्ने लक्ष्य राखेको अध्यक्ष राठीले जानकारी दिए । प्रदर्शनी दैनिक बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।