धरान । सुनसरीको धरान उपमहानगरपालिकाकी करार कर्मचारी अस्मिता राई ड्युटीकै समयमा कार्यालयको काउन्टरमै पार्टीको लागि चन्दा सङ्कलन गरेको आरोपमा विवादमा परेकी छन्।
उपमहानगर अन्तर्गतको श्रम संस्कृति पार्कको काउन्टरमा कार्यरत राईले कर्मचारी पोशाक र परिचयपत्र लगाएरै श्रम संस्कृति पार्टीका लागि चन्दा सङ्कलन गरेकी हुन् ।
राईले दार्जिलिङबाट आएका पाहुनाबाट १९ हजार ५६० रुपैयाँ चन्दा
सङ्कलन गरेको भिडियोमा देखिन्छ । कर्मचारी पोशाकमै चन्दा उठाएको विषय कर्मचारी आचारसंहिता विपरीत भएको भन्दै आलोचना भएको छ।
उपमहानगरका प्रशासन महाशाखा प्रमुख गणेश खतिवडाले कर्मचारीले यस्तो कार्य गर्न नहुने बताएका छन् । आचारसंहिता उल्लङ्घनको विषयमा स्पष्टता लिन राईलाई प्रशासन महाशाखामा रार्ईलाई उपस्थित हुन भनिएको उनले जानकारी दिए । “कर्मचारीको हैसियतमा चन्दा सङ्कलन गर्न पाइँदैन,” उनले भने।
घटनाबारे थप छानबिनपछि आवश्यक कारबाही गरिने उपमहानगरले जनाएको छ । राईलाई तत्काल मेयर हर्क साम्पाङले करारमा नियुक्ति दिएको बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।