पाँचथर । जन्मेदेखि ५९ महिनाभित्रका सबै बालबालिकाले उमेरअनुसार लगाउनुपर्ने खोपको सम्पूर्ण मात्रा पूरा गरेपछि पाँचथरलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ।
यो वर्ष ७७ जिल्लामध्ये पूर्ण खोप सुनिश्चित घोषणा हुने पहिलो जिल्ला बन्न पाँचथर सफल भएको जनाइएको छ।
जिल्लामा जन्मेदेखि ११ महिनाभित्रका १ हजार ५ सय १९, ११ देखि १५ महिनाका ५ सय ७३, १५ देखि २३ महिनाका १ हजार ४ सय ८ र २४ देखि ५९ महिनासम्मका ५ हजार ६ सय ४ गरी कुल ७ हजार १२ जना बालबालिका छन्। ती सबै उमेर समूहका बालबालिकालाई आवश्यक खोपको सम्पूर्ण मात्रा लगाएर पूर्ण खोप तथा दिगोपना सुनिश्चित गरिएको जिल्ला खोप समन्वय समिति पाँचथरका अध्यक्ष रामराज आङदेम्बेले जानकारी दिए।
जिल्ला समन्वय समिति पाँचथरका प्रमुखसमेत रहेका आङदेम्बेले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेका सबै मापदण्ड पूरा गर्दै जिल्लालाई देशकै पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न महत्वपूर्ण भूमिका खेल्ने जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालालाई धन्यवाद दिए। यसअघि जिल्लाका सबै पालिका र वडामा व्यापक खोप अभियान सञ्चालन गरिएको थियो।
खोपको पहुँचभन्दा टाढा रहेका बालबालिकालाई खोजी गरी खोप लगाउन ‘खोज र खोप देऊ’ जस्ता अभियान सञ्चालन गरिएको बताइएको छ। पाँचथरका सात गाउँपालिका र एक नगरपालिकामध्ये हिलिहाङ गाउँपालिका जिल्लामा पूर्ण खोप सुनिश्चित गर्ने पहिलो स्थानीय तह बनेको थियो ।
फिदिम नगरपालिका दोस्रो र तुम्बेवा गाउँपालिका तेस्रो भएका छन्। तीनवटै स्थानीय तहलाई कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले प्रमाणपत्रसहित पुरस्कृत गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।