काठमाडौं । भदौ २३ र २४ का घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेन–जी अभियन्ताहरूले प्रदर्शनलाई निरन्तरता दिएका छन्।
सोमबार काठमाडौँको माइतीघर मण्डलामा उनीहरू धर्नामा बसेर प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिएका हुन्।
जेन–जी मुभमेन्टको आयोजनामा भएको प्रदर्शनमा सहभागी युवाहरूले आँखामा कालोपट्टी बाँधेर विरोध जनाएका थिए। उनीहरूले ‘कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ?’, ‘कलमले लेखेका सत्यलाई सत्ताको कैँचीले नकाट’ र ‘एरर ४०४, जस्टिस नट फाउन्ड, रिलिज रिपोर्ट’ जस्ता नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले भदौ २४ मा भएको घटनाबारे छानबिन गरी फागुनमै सरकारलाई प्रतिवेदन बुझाइसकेको भएपनि अहिलेसम्म सार्वजनिक गरिएको छैन। त्यसैको विरोधमा जेन–जी अभियन्ताहरूले लगातार प्रदर्शन गर्दै आएका छन्।
गत ५ असोजमा गठन गरिएको आयोगलाई २३ भदौको जेन–जी आन्दोलनका क्रममा भएको दमन तथा २४ भदौमा भएका तोडफोड र आगजनीका घटनाबारे छानबिन गर्न कार्यादेश दिइएको थियो। आयोगलाई सुरुवातमा तीन महिनाको समय दिइएको भएपनि निर्धारित समयमा काम नसकिएपछि पटक–पटक म्याद थप गरिएको थियो।
पहिलो पटक ३ पुसमा एक महिना, दोस्रो पटक ८ माघमा २० दिन र अन्तिम पटक २६ माघमा २५ दिन थपिएको थियो। जेन–जी मुभमेन्ट अलायन्ससहित विभिन्न समूहमा आबद्ध युवाहरूले आयोगको प्रतिवेदन विगतका मल्लिक आयोग, रायमाझी आयोग र लाल आयोगजस्तै अलपत्र नपरोस् भन्दै तत्काल सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले प्रतिवेदन लुकाएर सत्य दबाउने प्रयास नगर्न सरकारलाई चेतावनी समेत दिएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।