लोड हुँदैछ...

मेनु

मध्यपूर्वको युद्धका कारण स्पेन र अर्जेन्टिनाबीचको फाइनलिसिमा रद्द

मध्यपूर्वको युद्धका कारण स्पेन र अर्जेन्टिनाबीचको फाइनलिसिमा रद्द

काठमाडौँ । युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच हुने तय भएको प्रतिष्ठित ‘फाइनलिसिमा’ फुटबल खेल रद्द गरिएको छ। मध्यपूर्वमा जारी युद्ध र त्यसका कारण उत्पन्न क्षेत्रीय राजनीतिक परिस्थितिका कारण यो प्रतिष्ठित खेल रद्द गर्ने निर्णय लिइएको हो।

आगामी २६ मार्चमा कतारमा आयोजना गर्ने योजनाका साथ युरोपियन फुटबल महासंघ (युएफा) र दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) ले तयारी गरिरहेका थिए। तर, क्षेत्रीय राजनीतिक अवस्थाका कारण कतारमा खेल आयोजना गर्न सम्भव नभएको युएफाले जारी गरेको वक्तव्यमा उल्लेख छ। युएफाले अन्य सम्भावित विकल्पहरू खोजिए पनि ती अर्जेन्टाइन फुटबल संघलाई स्वीकार्य नभएको जनाएको छ।

दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) र अर्जेन्टाइन फुटबल संघ (एएफए)ले संयुक्त विज्ञप्ति जारी गर्दै खेलका लागि ३१ मार्चको वैकल्पिक मिति प्रस्ताव गरिएको जानकारी दिएका छन्। एएफएले २७ मार्चमा इटालीको तटस्थ मैदानमा खेल आयोजना गर्ने प्रस्ताव प्राप्त गरेको थियो र त्यसमा सहमति जनाउँदै मिति परिवर्तन गरी ३१ मार्च गर्न सुझाव दिएको थियो। तर, युएफाले मूल प्रस्तावभन्दा चार दिन ढिलो गरी खेल आयोजना गर्न सम्भव नभएको भन्दै खेल रद्द गर्ने निर्णय लिएको हो।

युएफाका अनुसार अर्जेन्टिनाले विश्वकपपछि खेल आयोजना गर्ने अर्को प्रस्ताव पनि राखेको थियो। तर, स्पेनको खेल तालिकामा कुनै पनि मिति खाली नभएकाले त्यो विकल्प पनि सफल हुन सकेन। यता, स्पेनी फुटबल संघले भने खेल आयोजना गर्न आफूहरूले गम्भीर प्रयास गरेको र स्पेनमै वा अन्य कुनै तटस्थ मैदानमा जुनसुकै स्वरूपमा खेल्न तयार रहेको स्पष्ट पारेको छ।

मध्यपूर्वमा जारी द्वन्द्वको असर फुटबलमा मात्र नभई अन्य ठूला खेलकुदमा पनि देखिएको छ। आगामी अप्रिलमा हुने तय भएका बहराइन र साउदी अरेबियाका ‘फर्मुला–१ ग्रान्ड प्रिक्स’ प्रतिस्पर्धा पनि क्षेत्रीय सुरक्षाका कारण रद्द गरिएका छन्। फर्मुला–१ ले हालको परिस्थितिमा प्रतियोगिता आयोजना गर्न सुरक्षित नभएको जनाएको छ।

हरेक चार वर्षमा एक पटक आयोजना हुने ‘फाइनलिसिमा’ युएफा र कोनमेबोलको संयुक्त आयोजनामा हुने खेल हो। यसको पछिल्लो संस्करण सन् २०२२ मा लन्डनको वेम्बली रंगशालामा भएको थियो, जसमा अर्जेन्टिनाले उपाधि जितेको थियो। दुई महादेशका च्याम्पियनबीच हुने यो खेललाई विश्व फुटबलमा निकै महत्त्वका साथ हेर्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।