विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। आइतबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुरु भएको बहस नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेर आजका लागि निरन्तरता दिइएको हो।
अघिल्लो सरकारको पालामा महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्धका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दाहरू अघि नबढाउने र फिर्ता लिने निर्णय गरेको थियो। महान्यायाधिवक्ता सविता भण्डारी बरालद्वारा गरिएको उक्त निर्णय कानुनको शासन र न्यायको सिद्धान्त विपरित रहेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता युवराज पौडेल र आभास रेग्मीले सर्वोच्चमा छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए।
यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले यस विषयको गाम्भीर्यतालाई ध्यानमा राख्दै मुद्दालाई नियमित सुनुवाइमा लैजान आदेश दिएको थियो। आजको सुनुवाइले लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको कदम कानुनी रूपमा सही थियो वा थिएन भन्ने विषयमा महत्त्वपूर्ण व्याख्या गर्ने अपेक्षा गरिएको छ। लामिछानेमाथि सहकारी ठगी प्रकरणसँगै जोडिएर आएका आरोपहरूमा सरकारी निर्णय बदर भएमा उनीमाथि पुनः कानुनी अनुसन्धानको बाटो खुल्न सक्ने देखिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।