विराटनगर । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ। साहले आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै सो क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका मातृका यादव विजयी भएका छन्।
न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले साहको पक्षमा अन्तरिम आदेश जारी नहुने ठहर गरेको हो। सर्वोच्चको यो आदेशसँगै निर्वाचन आयोगले मातृका यादवलाई निर्वाचित घोषित गरेको निर्णयले कानुनी वैधानिकता पाएको छ।
किशोरी साह मुख्य सञ्चालक रहेको ‘कमल निर्माण सेवा प्रालि’ बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकी २०८० माघ २२ गतेदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको देखिएको थियो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार कालोसूचीमा रहेको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रावधानलाई टेक्दै निर्वाचन आयोगले फागुन १८ गते साहको उम्मेदवारी खारेज गरिदिएको थियो।
आफ्नो उम्मेदवारी जोगाउन साहले सर्वोच्चमा दुई वटा छुट्टाछुट्टै रिट दायर गरेका थिए। सुरुमा निर्वाचन आयोगको निर्णयविरुद्ध फागुन १९ गते रिट हालेका उनको मुद्दामा शुक्रबार सुनुवाइ हुन सकेन।
यसैबीच, साहले बुधबार (फागुन २७) मा नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रलाई विपक्षी बनाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै अर्को रिट दायर गरेका थिए। सो रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश शारंगा सुवेदीको इजलासले साह हाल कालोसूचीमा नदेखिएको भन्दै कालोसूचीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकी थिइन्। कर्जा सूचना केन्द्रको फागुन २८ को पत्रलाई आधार मान्दै सुवेदीको इजलासले उनलाई राहत दिन खोजेको थियो।
तर, निर्वाचन आयोगको उम्मेदवारी खारेजीको मुख्य निर्णयविरुद्ध परेको रिटमा भने न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश दिन नमानेपछि साहको निर्वाचन लड्ने र उम्मेदवारी कायम राख्ने प्रयास असफल भएको हो।
सर्वोच्चको यो पछिल्लो आदेशसँगै धनुषा-१ को चुनावी परिणाममा देखिएको अन्योल हटेको छ र मातृका यादवको विजय सुनिश्चित भएको छ। कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम देखिएपछि आयोगले चालेको कदमलाई अदालतले तत्काल हस्तक्षेप नगर्दा साह चुनावी प्रतिस्पर्धाबाट बाहिरिन पुगेका हुन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।