विर्तामोड । तीन दिनदेखिको हुरीका कारण झापा गाउँपालिका–७ का किसान चन्द्र बस्नेतको केराखेतीमा ठूलो क्षति पुगेको छ।
कृषि ज्ञान केन्द्र झापाकी सहायक बाली संरक्षण अधिकृत अञ्जु आचार्यका अनुसार बस्नेतले लगाएको दुई बिघा दुई कट्ठा जमिनको केराखेती हावाहुरीका कारण पूर्ण रूपमा नष्ट भएको हो।
“भाँचिएका सबै केराघरी लागेका रहेछन्,” उनले भनिन्, “पाक्न लागेका केरा नष्ट हुँदा किसानलाई ठूलो आर्थिक क्षति भएको छ।” बस्नेतले कुल ३० बिघा जमिनमा केरा खेती गरेका छन्। त्यसमध्ये घरी लागेका दुई बिघा क्षेत्रका करिब ३ हजार २०० बोट केरा हुरीले ढालेको आचार्यले जानकारी दिइन्।
हावाहुरीबाट करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। बस्नेतले प्राकृतिक विपत्तिका कारण आफू पटक–पटक मारमा परेको गुनासो गरेका छन्। उनका अनुसार गत असोज १८ र १९ गतेको अविरल वर्षा र बाढीले पनि उनको करिब एक करोड रुपैयाँ बराबरको केराखेती नष्ट गरेको थियो।
“बाढीले उजाडेको ठाउँमा बल्लतल्ल नयाँ बिरुवा हुर्काउँदै थिएँ, फेरि हुरीले सखाप पारिदियो,” बस्नेतले भने, “अघिल्लो पटकको क्षतिको राहत अझै पाएको छैन, फेरि अर्को क्षति भयो।”




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।