इलाम । इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको छ। ‘फस्ट फ्लस’ भनेर चिनिने यो टिपाइलाई उच्च गुणस्तरको चिया उत्पादनका लागि महत्वपूर्ण मानिन्छ।
फागुनको अन्तिम सातादेखि उत्पादन सुरु भएको चियाले उद्योगी र किसानका लागि वार्षिक आम्दानीको मुख्य आधार बन्ने चिया व्यवसायी जीवन पाण्डेले बताए। उनका अनुसार पहिलो टिपाइको चिया विशेष सावधानीका साथ संकलन गरिन्छ।
कोमल पातबाट उच्च गुणस्तरको चिया उत्पादन हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको माग पनि बढी हुने गरेको पाण्डेको भनाइ छ। चिया उद्योगी शरद सुब्बाका अनुसार यस वर्ष जिल्लाको दक्षिणी क्षेत्रबाट टिपाइ सुरु भएको छ।
इलामको सोयाक बगानमा पहिलो टिपाइ सुरु भएको हो । सुब्बाका अनुसार पहिलो चरणमै करिब अढाइ सय किलो चिया संकलन भइसकेको छ। सोयाकसँगै चिलिमकोटलगायत क्षेत्रका बगानमा क्रमशः टिपाइ सुरु भइसकेको उनले बताए।
जसबिरे स्थित जसबिरे चिया कारखानाका सञ्चालकसमेत रहेका सुब्बाका अनुसार यस वर्ष हरियो पत्तीको मूल्य गत वर्षकै हाराहारीमा कायम गरिएको छ। किसानलाई प्रतिकिलो ६५ रुपैयाँदेखि प्रतिकिलो एक हजार ५०० रुपैयाँसम्म मूल्य दिने व्यवस्था गरिएको उनले बताए।
सूर्योदय नगरपालिका–१ का चिया किसान जगन्नाथ अधिकारीका अनुसार पहिलो टिपाइको चिया गुणस्तरका हिसाबले राम्रो हुने भएकाले मूल्य पनि राम्रो पाइन्छ। उनले पहिलो टिपाइ राम्रो भए वर्षभरि नै चिया उत्पादनप्रति उत्साह बढ्ने बताए।
त्यस्तै माई नगरपालिका–५ का किसान बुद्ध लिम्बू ले कात्तिकयता पर्याप्त वर्षा नपरेकाले जिल्लाको माथिल्लो लेकाली क्षेत्रमा चैतको पहिलो सातापछि मात्र टिपाइ सुरु हुने सम्भावना रहेको बताए।
इलामसँगै पाँचथरमा रहेको कञ्चनजङ्गा चिया कारखानाले पनि पहिलो टिपाइको चिया प्रशोधन सुरु गरिसकेको छ। उद्योगीहरूका अनुसार यसरी तयार भएको चिया जर्मनी, रुस, अमेरिकालगायत युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ।
इलाममा गोल्डेन, गोल्डेन पल, सिल्भर टिप, गोल्डेन ब्ल्याक, ग्रिनलगायत विभिन्न स्वाद र गुणस्तरका चिया उत्पादन हुने गरेका छन्। मेची भन्सार कार्यालय झापाका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपाने का अनुसार चालु आर्थिक वर्ष २०८२र८३ मा नेपालबाट ८६ लाख ७७ हजार २२१ किलो चिया निर्यात भएको छ, जसबाट दुई अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको तथ्यांक छ।
कृषि मन्त्रालयको तथ्यांकअनुसार इलाममा करिब सात हजार ६०० किसानले सात हजार ३०० हेक्टर क्षेत्रफलमा चिया खेती गर्दै आएका छन् भने जिल्लामा ३६ वटा ठूला चिया बगान सञ्चालनमा रहेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।